इरान नीतिलाई लिएर ट्रम्प र नेतान्याहुबीच 'कठिन' फोनवार्ता, इजरायली प्रधानमन्त्री आक्रोशित

इरान नीतिलाई लिएर ट्रम्प र नेतान्याहुबीच 'कठिन' फोनवार्ता, इजरायली प्रधानमन्त्री आक्रोशित

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच इरानसँग सम्बन्धित कूटनीतिक प्रयासलाई लिएर निकै गम्भीर र कठिन फोनवार्ता भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एक्सीओसका अनुसार अमेरिका र इरानबीच परमाणु कार्यक्रम तथा क्षेत्रीय मुद्दामा सहमति खोज्न भइरहेको नयाँ कूटनीतिक पहलबारे दुई नेताबीच छलफल भएको थियो।

यस कूटनीतिक प्रयासमा कतार, पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टलगायतका देशहरूले मध्यस्थकर्ताको भूमिका खेलिरहेका छन्। वार्तापछि अमेरिकी कदमप्रति असन्तुष्ट देखिएका इजरायली प्रधानमन्त्री नेतान्याहु निकै आक्रोशित भएको स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिएको छ।

हाल अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको नयाँ मस्यौदामा छलफल भइरहेको छ, जसमा इरानको परमाणु कार्यक्रमबारे स्पष्ट प्रतिबद्धता र रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा गर्ने शर्तहरू समेटिएका छन्।

यसै सन्दर्भमा राष्ट्रपति ट्रम्पले आफू कूटनीतिक समाधानको सम्भावनाप्रति खुला रहेको तर आवश्यक परे सैन्य विकल्प पनि कायमै राख्ने संकेत दिनुभएको छ। उहाँले हालको स्थितिलाई सम्झौता र द्वन्द्वको बीचमा रहेको टिप्पणी गरेका छन्।

यता इरानले परिमार्जित प्रस्तावमाथि अध्ययन गरिरहेको बताए पनि आफ्नो पुरानो अडानमा खासै परिवर्तन गर्ने संकेत देखाएको छैन। अर्कोतर्फ, इजरायलले यो वार्ताप्रति गम्भीर चिन्ता व्यक्त गर्दै इरानविरुद्ध अझ कडा अडान लिनुपर्ने पक्षमा जोड दिएको छ।

यस वार्ताले इरान नीतिलाई लिएर दुई घनिष्ठ मित्रराष्ट्र अमेरिका र इजरायलका शीर्ष नेताबीच स्पष्ट दृष्टिकोणगत मतभेद रहेको उजागर गरेको छ। यद्यपि, यस विषयमा ह्वाइट हाउस र इजरायली प्रधानमन्त्रीको कार्यालयले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया भने दिएका छैनन्।