शहीदकाे बलिदानले देशमा सुशासनकाे बाटाे खुल्याे: सांसद खगेन्द्र सुनार

शहीदकाे बलिदानले देशमा सुशासनकाे बाटाे खुल्याे: सांसद खगेन्द्र सुनार

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले ‘जेनजी आन्दोलन’का शहीदहरूको बलिदानकै कारण देशमा सुशासन र परिवर्तन सम्भव भएको बताएका छन्।

मंगलबार आयोजित ‘जेनजी शहीद स्मृति दिवस’ कार्यक्रममा बोल्दै सांसद सुनारले शहीद परिवार तथा घाइतेहरूप्रति सम्मान व्यक्त गर्दै उनीहरूको त्याग खेर जान नदिने प्रतिबद्धता जनाए। शहीद परिवारलाई सम्बोधन गर्दै उनले भने, “तिम्रो छोरो ढल्यो, यो देश उठ्यो। तिम्रो छोराले गोली खाएर यो देशले सिटामोल खान पाएको हो। उनीहरू मरेका होइनन्, देशमा सुशासनका वृक्ष उमार्न बीउ बनेर रोपिएका हुन्।”

आन्दोलनका घाइतेहरूको पीडाले नै देशलाई अघि बढ्ने ऊर्जा दिएको उल्लेख गर्दै सांसद सुनारले सरकारले शहीद परिवार, घाइते र आन्दोलनका सम्पूर्ण मागहरूको पूर्ण जिम्मेवारी लिने दाबी गरे।

नयाँ सरकारलाई ‘आलाकाँचा’ भन्ने आलोचकहरूलाई जवाफ दिँदै उनले थपे, “हामी आलो र काँचो हौँला, तर कुहिएका छैनौँ। ढुक्क हुनुहोस्, सुखका दिन आउँदैछन्।”

भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रस्तुत भएका सुनारले पूर्व वा बहालवाला जुनसुकै पदमा रहेका व्यक्तिले भ्रष्टाचार गरेको प्रमाणित भए कसैलाई नछाडिने चेतावनी दिए। आफूहरू केवल ५ वर्षका लागि सांसद मात्र नभई भ्रष्टाचारविरुद्ध जीवन नै दाउमा राखेर लड्न तयार रहेको उनको भनाइ थियो।

छुटाउनुभयो कि ?