काठमाडौँ । ग्वार्कोस्थित रोयल टुलिपमा आइतबार सम्पन्न ‘फेस अफ नेपाल २०२६’ को ग्रान्ड फिनालेमा महिला विधातर्फ सुमन श्रेष्ठ र पुरुषतर्फ जियोन तामाङ विजेता बनेका छन्। प्रतियोगितामा आइस्ता जोशी र अनिशा श्रेष्ठ पनि विजेता घोषित भएका छन्।
अब यी चारै जना विजेताले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुने प्रतिष्ठित ‘एसिया मोडल फेस्टिभल’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन्। एमएस प्रोडक्सनको आयोजनामा सम्पन्न यस प्रतियोगिताको फिनालेमा ८ जना महिला र ११ जना पुरुष गरी कुल १९ जना प्रतिस्पर्धीहरूले प्रतिस्पर्धा गरेका थिए।
देशमा आएको बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिकै बीच यो ग्रान्ड फिनाले सम्पन्न भएको हो। विषम परिस्थितिका कारण आयोजकले कार्यक्रम एक साता सारेको भए पनि पूर्वधार र स्थान तय भइसकेकाले थप लम्ब्याउन सम्भव नभएको नेसनल डाइरेक्टर मेनुका माझीले जानकारी दिइन्।
विपद्को समयमा आयोजक टिमले बाढीपीडितलाई राहत वितरण गर्दै चुनौतीका बाबजुद कार्यक्रम सफल बनाएकोमा उनले खुसी व्यक्त गर्दै सम्पूर्ण प्रायोजक र सहयोगीहरूप्रति आभार व्यक्त गरेकी छन्।
प्रतियोगिताको निर्णायक मण्डलमा एसिया मोडल फेस्टिभलका अध्यक्ष याङ युई सिङ, अभिनेत्री तथा मोडल नीति शाह, राष्ट्रिय निर्देशक मेनुका माझी, पूर्वविजेता हिमाञ्चल राज केसी, फेसन डिजाइनर सुकनीता चौलागाईं र मनीष थापा रहेका थिए। यस कार्यक्रमको मुख्य प्रायोजक स्टार बोस कफी र सह-प्रायोजक यामाहा रेसिङ रहेका थिए।