काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद् तथा संकटको समयमा कर्मचारीतन्त्रलाई तर्साएर भन्दा पनि उत्प्रेरित र जिम्मेवार बनाएर काममा परिचालन गर्नुपर्ने बताएका छन्।
शनिबार २३ औँ निजामती सेवा दिवसका अवसरमा चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित ‘निजामती सेवा सम्मान–२०८३’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले राज्यका निकाय र कर्मचारीतन्त्र अन्योलको स्थितिमा रहेको टिप्पणी गरे।
कर्मचारीतन्त्रलाई अनुशासित बनाउन त्रासको वातावरण सिर्जना गर्न नहुने तर्क गर्दै उनले करबलले गराइएको काम प्रभावकारी हुन नसक्ने स्पष्ट पारे। "कर्मचारीलाई जिम्मेवार बनाउने दुई तरिका हुन्छन्— एउटा असल कर्म र नीतिद्वारा उत्प्रेरित गर्ने, अर्को तर्साएर बाध्य पार्ने। तर, त्रास देखाएर गराइएको काम प्रभावकारी हुन सक्दैन," उनले भने।
सरकारका राम्रा काममा सहयोग र गलत काममा खबरदारी गर्ने आफ्नो दलको नीति रहेको स्मरण गराउँदै प्रचण्डले अहिलेका लक्षणहरू भने सकारात्मक नदेखिएको दाबी गरे। उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र लामो सङ्घर्षबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि सबै सचेत नागरिक र राजनीतिक नेतृत्व एकजुट हुनुपर्नेमा जोड दिए।
हालैको बाढी–पहिरो र उद्धार कार्यको समीक्षा गर्दै प्रचण्डले १० दिनपछि सुरुङ (टनेल) बाट दुई जनाको सकुशल उद्धार हुनु सन्तोषजनक भए पनि समयमै प्रभावकारी कदम नचाल्दा ठूलो मानवीय क्षति भएको बताए। "समयमै उद्धार तीव्र बनाएको भए अझ धेरैको ज्यान बचाउन सकिन्थ्यो। विपद् व्यवस्थापनमा सरकार अझ बढी जिम्मेवार हुनुपर्छ," उनले भने।
विगत २३ वर्षदेखि सरकारले निजामती सेवा दिवसमा उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गर्दै आएको परम्परा स्मरण गराउँदै प्रचण्डले विपद्को बहानामा कार्यक्रम नै स्थगन गर्नु गलत भएको बताए। आपत्–विपद्का बेला स्थायी सरकारका रूपमा रहेका कर्मचारीलाई प्रोत्साहित गर्नुपर्ने भन्दै केही दिन सारेर भए पनि पुरस्कार वितरण गरी मनोबल बढाउनुपर्ने उनको भनाइ थियो।