काठमाडौं। आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको युट्रेच्टमा बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ।
जितका लागि नेदरल्यान्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमै समेटिएपछि हार व्यहोर्न बाध्य भएको हो।
नेपालका लागि ब्याटिङतर्फ आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेलले २६ र करण केसीले २३ रन जोडे। अन्य ब्याटरहरूले सम्झनयोग्य योगदान दिन नसक्दा नेपाल लक्ष्यभन्दा निकै पछाडि रह्यो। नेपाललाई सस्तैमा समेट्न नेदरल्यान्ड्सका काइल क्लाइनले तीन विकेट लिए भने लोगान भान बिक, रुलोफ भान डर मर्वे र ज्याक लायन-काचेटले समान दुई-दुई विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २२५ रनको योगफल खडा गरेको थियो। नेदरल्यान्ड्सका लागि नोआ क्रोसले ७० रनको अर्धशतकीय पारी खेले भने कप्तान स्कट एडवर्ड्सले ५७ रनको महत्त्वपूर्ण योगदान दिए।
बलिङतर्फ नेपालका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा ३० रन खर्चेर चार विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले दुई तथा हेमन्त धामी र ललित राजवंशीले समान एक-एक विकेट लिएका थिए।
कमजोर ब्याटिङका कारण विश्वकप लिग-२ को आठौँ त्रिकोणात्मक शृङ्खलामा नेपाल जितविहीन बन्दै महत्त्वपूर्ण अङ्क गुमाउन पुगेको छ। यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो भने नामिबियासँगका दुई खेलमा क्रमशः आठ विकेट र तीन रनको हार व्यहोरेको थियो।
यो जितसँगै ३१ खेलबाट ३८ अंक जोड्दै नेदरल्यान्ड्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। यता ३२ खेलमा २४ अंक मात्र रहेको नेपाल छैटौँ स्थानमा सीमित छ भने ४३ अङ्कसहित अमेरिका शीर्ष स्थानमा कायमै छ।