काठमाडाैं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्टहरूबीच सकेसम्म चाँडो एकता र सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।
‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने र मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने जिकिर गरे।
उनले आफूले आजको भोलि नै पार्टी एकता गरिहाल्ने विचार नराखेको प्रष्ट पार्दै कार्यगत सहकार्यका लागि भने आजै र अहिलैदेखि लाग्नुपर्ने बताए। केही साथीहरूले पार्टी एकताको कुरालाई बुझ्न नसकेको भन्दै उनले सहकार्य आजै सकिन्छ भने आजै, भरे सकिन्छ भने भरे र भोलि सकिन्छ भने भोलि नै गर्न तयार हुनुपर्ने धारणा राखे।
सरकारमाथि प्रहार र 'कम्युनिस्ट सिध्याउने खेल' को आरोप
संयोजक प्रचण्डले वर्तमान सरकार संविधानका आधारभूत विषय र उत्पीडित समुदायमाथि प्रहार गर्न उद्यत रहेको गम्भीर आरोप लगाएका छन्। संविधानका मूलभूत मान्यतामाथि आक्रमण सुरु भइसकेको उल्लेख गर्दै उनले त्यसको प्रतिरोधका लागि कम्युनिस्ट शक्तिको बलियो उपस्थिति आवश्यक रहेको औँल्याए।
संसारभरबाट कम्युनिस्टहरूलाई सिध्याउन खोजिएको भन्दै उनले छिमेकी देश भारतको उदाहरण दिए र नेपालमा पनि कम्युनिस्ट शक्ति सिध्याउने प्रतिक्रियावादी खेल भइरहेको दाबी गरे। गत २३ र २४ भदौको आन्दोलन तथा २१ फागुनको चुनाव पनि कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने र सिध्याउने योजनाकै हिस्सा भएको उनको भनाइ थियो।
राष्ट्रिय स्वाधीनता र मदन भण्डारीप्रति सम्मान
राष्ट्रिय स्वाधीनताको रक्षा, निरंकुशताको अन्त्य र वैदेशिक दबाब तथा हस्तक्षेपका विरुद्ध देशभक्त कम्युनिस्ट शक्तिहरू एक हुनुको विकल्प नभएको प्रचण्डले स्पष्ट पारे। विचार मिल्नेहरूले एकता र सहकार्यमा ढिलाइ गर्दा देशमा ठूलो दुर्भाग्य निम्तिन सक्ने चेतावनी उनले दिए।
जननेता मदन भण्डारीप्रति सच्चा सम्मान व्यक्त गर्न र हालसम्म प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्नका लागि पनि सबै कम्युनिस्ट घटकहरू एकजुट भएर अगाडि बढ्नुपर्नेमा उनले विशेष जोड दिएका छन्।