भारतीय मिडियामा रवि लामिछानेको लेख: 'महत्त्वाकांक्षी नेपाल र उदीयमान भारतबीच कसरी पुनः सम्बन्ध जोड्ने?'

भारतीय मिडियामा रवि लामिछानेको लेख: 'महत्त्वाकांक्षी नेपाल र उदीयमान भारतबीच कसरी पुनः सम्बन्ध जोड्ने?'

काठमाडौँ। भारतको प्रतिष्ठित अंग्रेजी दैनिक पत्रिका 'हिन्दुस्तान टाइम्स' मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको एक विशेष विश्लेषणात्मक लेख प्रकाशित भएको छ।

'महत्त्वाकांक्षी नेपाल र उदीयमान भारतबीच कसरी पुनः सम्बन्ध जोड्ने?' शीर्षकको उक्त लेखमा लामिछानेले नेपालको बदलिँदो राजनीतिक परिदृश्य, दुई देशबीचको आर्थिक साझेदारी, र परम्परागत भूराजनीतिबाट माथि उठेर 'विकास कूटनीति' मा केन्द्रित हुनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

नेपालमा नयाँ राजनीतिक चेतनाको उदय
 

लामिछानेले लेखको सुरुवातमा नेपालमा गैर-राजनीतिक पृष्ठभूमि र युवाहरूको नेतृत्वमा भएको शान्तिपूर्ण 'मतपेटी क्रान्ति' को चर्चा गरेका छन्। पुष्पकमल दाहाल 'प्रचण्ड' लाई संकेत गर्दै लाई निर्वाचित गर्ने र पुराना दलहरूलाई चुनौती दिँदै चार वर्षभन्दा कम समयमै रास्वपा संसद्को चौथो ठूलो शक्ति बनेको घटनालाई उनले विश्व राजनीतिकै एक दुर्लभ घटनाका रूपमा चित्रण गरेका छन्। रास्वपाले पाएको मत आक्रोश र आशा दुवैको सम्मिश्रण भएको र यसले देशमा युवा, समावेशी र निष्कलंक नेतृत्वको माग गरेको उनले उल्लेख गरेका छन्।

परराष्ट्र नीतिका सम्बन्धमा उनले स्पष्ट पारेका छन्, "हाम्रो परराष्ट्र नीतिमा विगतको कुनै बोझ वा पुराना पूर्वाग्रहहरू छैनन्। हामी खुला हृदय, स्पष्ट दृष्टिकोण र पारदर्शी एजेन्डाका साथ भारत र विश्वलाई हेर्न चाहन्छौँ।"

सीमा मात्र होइन, अर्थतन्त्र जोड्ने नीति
 

भारतको द्रुत आर्थिक विकासको प्रशंसा गर्दै लामिछानेले नेपाल भारतको विकासको साझेदार बन्न चाहेको बताएका छन्। भारतले रेलवे र कनेक्टिभिटीमा गरेको गजबको प्रगतिको चर्चा गर्दै उनले प्रस्तावित रक्सौल-काठमाडौँ रेलवे लाइनले दुई देशबीचको व्यापार, पर्यटन र क्षेत्रीय सञ्चालनमा क्रान्ति ल्याउने विश्वास व्यक्त गरेका छन्।

उनले दिल्ली, मुम्बई वा बेंगलुरु मात्र नभई गुजरातको औद्योगिक कोरिडोर र आन्ध्र प्रदेश तथा तेलङ्गानाको सूचना प्रविधि विकासबाट नेपालले प्रेरणा लिन सक्ने लेखेका छन्। नेपालमा आईआईटी  र एम्स जस्ता प्रतिष्ठित भारतीय शिक्षण संस्थाहरू स्थापना गर्न र काठमाडौँ-बेंगलुरु डिजिटल कोरिडोरको परिकल्पना गर्न सकिने उनको प्रस्ताव छ।

भूराजनीतिबाट 'विकास कूटनीति' तर्फ
 

रास्वपाले भारत-नेपाल सम्बन्धको स्थापित भाष्यलाई भूराजनीतिक खिचातानीबाट हटाएर 'विकास कूटनीति'मा केन्द्रित गर्न चाहेको उनले बताएका छन्। उनले लेखेका छन्, "हाम्रो मुख्य एजेन्डा भनेको आफ्ना कूटनीतिक नियोगहरूलाई लगानी, व्यापार र आर्थिक साझेदारीको इन्जिनमा रूपान्तरण गर्नु हो।"

नेपालको जलविद्युत् क्षमता अब केवल राष्ट्रिय सम्पत्ति मात्र नभएर उदीयमान भारतको औद्योगिक कोरिडोरलाई ऊर्जा दिने हरित इन्जिन बन्न सक्ने भन्दै उनले परम्परागत सीमापार व्यापारबाट माथि उठेर एकीकृत ऊर्जा बजार निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। टमाटरको मूल्य वा मेसिनरीको ओसारपसार अब कर्मचारीतन्त्रीय झन्झटमा अल्झिनु नहुने र सुदृढ एकीकृत जाँच चौकी मार्फत सीमाहरूलाई सहज बनाउनुपर्ने उनको तर्क छ।

आपसी विश्वास र ऐतिहासिक अवसर
 

लामिछानेले विगत ३० वर्षको राजनीतिक अस्थिरता र भ्रष्टाचारको कालखण्ड अब नेपालको इतिहास बनिसकेको दाबी गर्दै नयाँ पुस्ताको बलियो जनादेशले व्यावसायिक नेतृत्व माग गरेको उल्लेख गरेका छन्। सीमा सम्बन्धी हालैका विवादहरूलाई पुरानै राष्ट्रवादी नाराबाजीका आधारमा नभई ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा संवादमार्फत समाधान गर्न सकिने उनले बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ को अगस्ट ३ मा नेपाल संसद्मा सम्बोधन गरेको र नेपाली जनतासँग सिधा संवाद गरेको क्षणलाई स्मरण गर्दै उनले हिमालय र गङ्गा जत्तिकै प्राचीन दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सन् २०२६ को यो समय (मध्य २०२६) सबैभन्दा अनुकूल 'ऐतिहासिक अवसर' भएको उल्लेख गरेका छन्।

बागमती र गङ्गामा धेरै पानी बगिसकेको सन्दर्भ जोड्दै उनले आपसी विश्वास र इमानदारिताका साथ ऐतिहासिक पुराना मतभेदहरूलाई पन्छाएर नयाँ सम्भावनाको पुल निर्माण गर्नुपर्ने आह्वानका साथ लेखको अन्त्य गरेका छन्।

छुटाउनुभयो कि ?