काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।
प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उहाँको अवस्था अहिले सुधारोन्मुख रहेको छ। तर, उपचारमा संलग्न चिकित्सकहरूले पूर्ण आराम र निगरानीका लागि अझै एक-दुई दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने सुझाव दिएका छन्। विगत केही दिनदेखि अस्वस्थ रहनुभएका प्रचण्डलाई रुघाखोकी र ज्वरोका साथै हल्का निमोनियासमेत देखिएपछि अस्पताल भर्ना गरिएको हो।
यसैबिच, आज बिहान अस्पताल पुगेर प्रचण्डलाई भेटेका नेकपाका युवा नेता रामप्रसाद सापकोटाले पनि उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको पुष्टि गरेका छन्। सामाजिक सञ्जालमा प्रचण्डसँगको पछिल्लो तस्बिर सार्वजनिक गर्दै सापकोटाले लेखेका छन्, "उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। हल्का निमोनिया देखिएपछि अहिले उपचार चलिरहेको छ। भोलिसम्म अस्पतालमै बसेर डिस्चार्ज हुँदै हुनुहुन्छ।"
नेता सापकोटाले सामाजिक सञ्जालमा प्रचण्डको स्वास्थ्यलाई लिएर भ्रामक प्रचार भइरहेको भन्दै ध्यानाकर्षणसमेत गराएका छन्। "बाहिर आएका कतिपय फोटाहरू एआई निर्मित हुन् र कतिपय पोस्टहरू केवल अफवाह मात्र हुन्," उनले भनेका छन्, "निमोनियाबाहेक उहाँमा अरू कुनै गम्भीर समस्या छैन, त्यसैले कसैले पनि भ्रममा नपरौँ।" अस्पतालका अनुसार प्रचण्डको स्वास्थ्य स्थिति स्थिर रहेको र औषधिले राम्रो काम गरिरहेको छ।