काठमाडौं। कम्युनिस्ट शीर्षनेतारहित नयाँ कम्युनिस्ट पार्टी गठन गृहकार्य थालिएको छ। नेतृत्व हस्तान्तरण र पुस्तान्तरण बहस गर्दै आएका नेताले दोस्रो र तेस्रो पुस्ताको नेतृत्वमा पार्टी गठन गृहकार्य थालेका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठबाहेकका पार्टी गठन गर्नुपर्ने आवश्यकता औंल्याइएको हो।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीसहितका १० वामघटकबीच बुधबार पार्टी एकीकरण भई नेपाली कम्युनिस्ट पार्टी घोषणा भएको थियो । पार्टी एकीकरणमा सहभागी नभएका नेता छुटाछुट्टै अभियान सञ्चालन गर्दै छन् । देश दौडाहापछि छुट्टै पार्टी गठन गर्ने उनीहरूको योजना छ ।
छुट्टै पार्टी गठन गर्ने तयारी गरिरहेका नेतामा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा प्रभाकर, पूर्वसचिव राम कार्की, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव ‘चन्द’लगायत नेता छन्। समाजवादी मोर्चामा रहेका विप्लव नेतृत्वको पार्टीसँग समेत पार्टी एकता गर्ने सहमति यसअघि बनेको थियो ।
तर विप्लव पनि पार्टी एकतामा सहभागी भएनन् । विप्लव नेतृत्वको पार्टी विभाजन गरी पुनः नेतृत्वको समूह भने पार्टी एकतामा सहभागी भयो । पार्टी एकतामा सहमत नहुने, विद्रोह गर्ने नेताहरूले अर्को पार्टी गठन गर्न सकिने विषयमा छलफल भएको जनाएका छन् । माओवादीभित्र नेतृत्व हस्तान्तरण बहस गर्दै प्रचण्डको नजरमा विद्रोही देखिएका शर्मा अहिले प्रगतिशील अभियान सञ्चालन गर्ने अभियानको नेतृत्वमा छन् ।
शर्माले विप्लव नेतृत्वको नेकपासँग सहकार्य गर्दै पार्टी एकता गर्ने जनाएका छन् । यसमा घनश्याम भुसालसहितका नेतासमेत सहमत छन् । भुसालले ओली, प्रचण्ड र नेपालविनाको अर्को छुट्टै कम्युनिस्ट पार्टी गठन गरिने जनाएका छन् । ‘सहकार्य गर्ने कुरामा विप्लवजी, घनश्यामजीलगायत थुप्र ैसँग हुन्छ । हामीले प्रगतिशील अभियान भनेका छौं ।
त्यहाँ सीमित र सानो घेरामा कैद गर्न चाहदैनौं। लोकतन्त्रमा आधारित विधि मूल्यलाई स्वीकार्दै समावेशिताको पक्षमा लाग्ने सबैलाई सहभागी र सहयात्री बनाउँछौं ,’ शर्माले भने । शर्मा, भुसाल र विप्लव वैकल्पिक वाम शक्ति नर्माण प्रयासमा छन् ।
नेतात्रयले ‘अहिले भइरहेका ठुला कम्युनिस्ट पार्टीका नेतृत्वकर्ता ओली, नेपाल र प्रचण्डहरूले नै नेपालको वाम आन्दोलनलाई भ्रष्टीकरण गरेको’ भन्दै नेपालको वाम आन्दोलन पुनर्गठन र रूपान्तरण गर्न आवश्यक रहेको बताउँदै आएका छन् ।
‘ओली, प्रचण्ड र नेपालबिनाको वाम एकता आजको आवश्यकता हो । जनार्दनको विद्रोहपछि यसका सकारात्मक संकेत देखिएका छन्,’ भुसालनिकट नेता दामोदर अर्याल भन्छन्, ‘ओली, प्रचण्ड र नेपालहरू करिब चार दशकदेखि निरन्तर पार्टी सत्ता र सरकारको नेतृत्व गर्दै आएका छन् ।’
पार्टी ‘विलय’को दिन पनि माधवको कारबाही पत्र
तत्कालीन नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले महासचिव घनश्याम भुसाल, पूर्वसचिव रामकुमारी झाँक्रीसहितका नेतालाई पार्टी सदस्यसमेत नरहनेगरी कारबाही गरेको पाइएको छ । पार्टी एकीकरण निर्णय गरेपछि नेपालले प्रतिशोधस्वरुप उनीहरूमाथि कारबाही निर्णय गरेको पाइएको हो । नेपालले उनीहरूलाई १९ कात्तिकको मिति राखेर कारबाही गरे पनि सो पत्र २० कात्तिक बिहीबार सार्वजनिक गरिएको छ ।
जबकी एकीकृत समाजवादी पार्टी बुधबार नै एकीकरण गरेर नेपाली कम्युनिस्ट पार्टीमा विलय भइसकेको छ । भुसाल, झाँक्रीसहित नेताहरू दामोदर अर्याल, नन्दलाल बञ्जाडे, धर्मराज निरौला र कृष्णकुमार श्रेष्ठ (किसान) लाई समेत पार्टी सदस्य नरहनेगरी कारबाही गरिएको छ । कारबाहीमा परेका नेताले ‘पार्टी एकताप्रति असहमति’ जनाउँदै आएका छन् ।
‘पार्टीविरोधी कार्य गरेको’ भन्दै केन्द्रीय कमिटीको तेस्रो बैठकद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै नेपालले केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकबाट विधानको धारा १२१ (२) बमोजिम पार्टी सदस्य पनि नरहनेगरी उनीहरूलाई कारबाही गर्ने निर्णय गरेका हुन् ।
राजधानी दैनिकबाट