काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) युवा नेता राजु गैरेले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव छत्र खडायतविरुद्ध प्रहरीले किटानी जाहेरी लिन नमानेको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले चक्रपथ प्रहरीले लिङ्देनका स्वकीय सचिव खडायतविरुद्ध किटानी जाहेरी लिन नमानेको बताएका हुन् ।
लिङ्देनका स्वकीय सचिव खडायतले गत साउन १४ गते गैरेमाथि हातपात गरेको भिडिओ फुटेज सार्वजनिक भएको थियो । प्राप्त भिडिओ फुटेजमा खडायतले गैरेलाई हेल्मेटले प्रहार गरेका थिए । सो घटनामा प्रहरीले किटानी जाहेरी नै लिन नमानेको उनको गुनासो छ । ‘प्रहरीले किटानी जाहेरी लिन मिल्दैन पनि भनेको छैन । आइतबार आउनुस्, सोमबार आउनुस् भन्नुभयो,’– उनले भने ।
चक्रपथ प्रहरीका डीएसपीले किटानी जाहेरी दर्ता गर्न नमानी ‘तपाईँहरुको राजनीतिक विषय, पार्टी कार्यालयमा बसेर छलफल गर्नुस्’ भनेको उनले बताए । ‘प्रहरी प्रशासनले मलाई मुसो खेलाएजसरी खेलाइरहेको छ । नियोजित तरिकाले मान्छे मार्ने उद्देश्यले भएको घटनालाई म सहमति गर्ने पक्षमा छैन । यो मेरो स्वयं विषय होइन, पार्टीभित्र आवद्ध भएका लाखौं कार्यकर्ताको विषय हो,’– उनले भने ।
आफूमाथि आक्रमण गर्ने खडायतविरुद्ध कानूनी कारबाही नभएको खण्डमा आगामी भदौ १० गतेदेखि माइतीघर मण्डलामा आमरण अनशन बस्ने चेतावनी दिए । ‘म आगामी १० गतेबाट अनशन बस्ने घोषणा पनि गर्न चाहन्छु । मैले न्याय पाइन भने पार्टीको अनुशासन कायम गराउनका लागि, गल्ती गर्नेहरु कानुनको दायरामा आउनुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि म अनशन बस्दैछु,’– उनले भने ।