ट्वान्टी–२० : १०० विकेटको संघारमा सन्दीप

ट्वान्टी–२० :  १०० विकेटको संघारमा सन्दीप

काठमाडौँ : ठ्याक्कै दुई वर्षजति अगाडि हो सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो पहिलो खेलको प्रतीक्षामा निकै व्यग्र थिए । तत्कालीन दिल्ली डेयरडेभिल्स आईपीएलको प्लेअफ दौडबाट बाहिरिइएपछि मात्र हो टोलीले सन्दीपलाई मौका दिएको । बाँकी सबै इतिहास बन्यो ।

सन्दीपले आईपीएलमा आफ्नो पहिलो खेलमै रोयल च्यालेन्जर्स बेंग्लोरका पार्थिव पटेललाई एलबीडब्लु आउट गरे । उनको यो विकेटयात्रा शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा अनुपम कोसेढुंगामा परिणत हुनेछ, उनले मलेसियाविरुद्धको हुने खेलमा एक विकेटमात्र लिन सके । ट्वान्टी–२० मा त्यो विकेटले सन्दीपको १०० विकेट पूरा हुनेछ । यस्तो उपलब्धि हात पार्ने उनी नेपालको पहिलो खेलाडी बन्नेछन् ।

सन्दीपले आईपीएल २०१८ को सिजनमा अन्तिम तीन खेलमा मौका पाए । त्यसमा ५ विकेट लिए । आईपीएलमा पाएको त्यस ‘ब्रेक थ्रु’ र आफ्नो प्रतिभाका कारण सन्दीपलाई विश्वका लगभग सबै ठूलो फ्रेन्चाइज क्रिकेटमा खेल्न बाटो देखाइदियो । त्यसयता उनले क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बिग बास, बंगलादेश प्रिमियर लिग, अफगान प्रिमियर लिग, टी–१० लिग, ग्लोबल लिग क्यानडामा खेलिसकेका छन् ।

अक्टोबरमा ओमानमा भएको पाँच राष्ट्रसम्मिलित प्रतियोगितामा नेदरल्यान्ड्ससँग ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिनु सन्दीपको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ प्रदर्शन हो । पाकिस्तान सुपर लिगमा लाहोर कालन्दर्सबाट खेल्दै दुबईमा क्वेटा ग्लाडियटर्सविरुद्ध ४ ओभरमा १० रनमात्र खर्चेर १० विकेट लिनु सन्दीपको ट्वान्टी–२० मा उत्कृष्ट बलिङ प्रदर्शन हो ।

फ्रेन्चाइज क्रिकेटको पारिश्रमिकको पनि सन्दीपको प्रदर्शनजस्तै आकासिँदो छ । उनले इंग्ल्यान्डमा जुलाईमा द हन्ड्रेड खेल्दैछन् र त्यसवापत उनले १ लाख पाउन्ड पारिश्रमिक पाउनेछन् । नामिबियासँग विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्दै सन्दीप राष्ट्रिय टोलीमा प्रवेश गरेका थिए । त्यसयता उनी टोलीका प्रमुख बलर रहँदै आएका छन् । सन्दीपले फ्रेन्चाइज क्रिकेट खेलेर बटुलेको अनुभव र उनको उपस्थिति आफ्नो टोलीका लागि ठूलो आधार रहेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन्

मलेसियासँग नेपालको पहिलो खेल
नेपालले एसीसी पुरुष इस्टर्न रिजन क्रिकेटमा शनिबार बैंककमा मलेसियाको सामना गर्नेछ । इस्टर्न रिजन सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको एसिया कपको छनोटको पहिलो खुड्किलो हो । इस्टर्न रिजनमा नेपाल र मलेसियासहित थाइल्यान्ड, हङकङ, सिंगापुरले प्रतिस्पर्धा गर्दैछन् । यसको शीर्ष दुई टोलीले अगस्टमा मलेसियामा हुने एसिया कप छनोटमा प्रतिस्पर्धा गर्न पाउने छ ।

क्रिकेटिङ नेपाल इस्टर्नको दुई टोली र वेस्टर्न रिजनका शीर्ष दुई टोली यूएई र कुवेतले एसिया कप छनोटमा प्रतिस्पर्धा गर्नेछन् । त्यसको विजेताले भारत, पाकिस्तान, श्रीलंका, बंगलदेश र अफगानिस्तानसँग खेल्नेछ । एसिया कप प्रत्येक दुई वर्षमा आयोजना हुन्छ र एक संस्करण एकदिवसीय र अर्को संस्करण ट्वान्टी–२० हुने गरेको छ । यसपालि ट्वान्टी–२० संस्करण हुन लागेको हो ।

कोरोना भाइरसका कारण चीन, भुटान र म्यानमारले नाम फिर्ता लिएपछि इस्टर्न रिजनमा ५ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले आइतबार हङकङसँग, बुधबार आयोजक थाइल्यान्डसँग र शुक्रबार सिंगापुरसँग खेल्दै छ । अगस्टमा सिंगापुरमै भएको विश्व ट्वान्टी–२० छनोटको एसिया क्षेत्रमा सिंगापुर र कतारसँग पराजित भएपछि नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको थियो । एक सय विकेटको संघारमा रहेका सन्दीपले मलेसियासँगको तीन ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ५ विकेट लिएका छन् ।