सिन्धुली। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छाडा छोड्न नहुने बताएका छन्।
आइतबार माओवादी केन्द्र दुधौली नगर समितिको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले सामन्ती प्रवृत्तिहरूले पुनः टाउको उठाउन खोजेको उल्लेख गदैँ सचेत रहनुपर्ने बताए।
उनले भने, “ज्ञानेन्द्र शाहलाई अब छाडा छोड्न सकिँदैन। जनता र पार्टीहरुले देखाएको उदारताको नाजायज फाइदा उठाएर फेरी गुण्डागर्दी, हत्या, आततायी काम गर्छन् भने उनलाई छुट दिइँदैन। उनलाईं छुट दिनु हुँदैन भनेर अहिले जनस्तरबाटै आवाज उठेको छ।”
माओवादी केन्द्रले राष्ट्रिय एकता कायम गर्न लागेका बेला सामन्ती प्रतिगमनकारी तत्वहरुले टाउको उठाउने जमर्को गरेको उनको भनाइ थियो।
कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा राखेपनि जस्ताको त्यस्तै भनेजस्तै ज्ञानेन्द्र शाह नसुध्रिएको उनले टिप्पणी गरे।
संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य नेतृत्वकर्ता आफ्नो पार्टी हुनुको नाताले र शान्ति सम्झौताको जिवित हस्ताक्षरकर्ता हुनुको नाताले नेपाली नागरिकले प्राप्त गरेको अधिकारीलाई अझ व्यवस्थित तरिकाले अगाडि बढाउने उद्देश्यका साथ प्रतिगमनकारी सड्यन्त्रका विरुद्ध काठमाडौमा विशाल जनसभासमेत गरिएको उनले बताए।
प्रचण्डले तीनकुनेमा आयोजित राजावादीहरूको सभालाई विवेकहीनता, आततायी प्रवृत्ति र हत्याको संज्ञा दिए। उनले चैत १५ गते काठमाडौंमा भएको गणतन्त्र पक्षधरहरूको सभा संयमित तर राजावादीहरूको सभा हत्याराका रूपमा चित्रित गरे। ती सभा हिरो र भिलेनको जस्तो भएको उनको टिप्पणी थियो।
“समाजवादी मोर्चाको सभा नभएको भए त्यस दिन अझ ठूलो बितण्डा राजावादी मण्डलेहरूले गर्न सक्ने भनेर काठमाडौंका जनताले हामीलाई धन्यवाद दिए,’ उनले सुनाए।
राजावादीहरुको आन्दोलनका क्रममा दुई युवाको हत्या हुनुको जिम्मेवार ज्ञानेन्द्र शाह रहेको आरोप लगाउँदै उनले जनताले अब यस्ता प्रवृत्तिलाई सहन नसक्ने चेतावनी दिए।