दुग्ध उत्पादनमा विविधीकरण गर्नुपर्छ : मुख्यमन्त्री राई

दुग्ध उत्पादनमा विविधीकरण गर्नुपर्छ : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले डेरी उद्योगले उत्पादनमा विविधीकरण गरी आयात प्रतिस्थापन गर्नुपर्ने बताउनुभएको छ । विराटनगर महानगरपालिका–१४ जतुवामा नवस्थापित सूर्योदय मिल्क एण्ड वेभरेज इण्डष्ट्रिज प्रालिको आज उद्घाटन गर्दै उहाँले उद्योगले राम्रो ब्राण्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा चकलेट उत्पादन गरी निर्यातबाट बजेट घाटा न्यूनीकरणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै राष्ट्रको मेरुदण्डका रुपमा रहेको कृषिलाई आधुनिकीकरण, औद्योगिकीकरण लागि आगामी नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गरिने जानकारी दिनुभयो । उहाँले नेपालमा सबभन्दा बढी दूध उत्पादन हुने यस क्षेत्रमा ‘मिल्क होलिडे’ अन्त्यका पहल गरिएको जनाउँदै कृषि उत्पादनमा आत्मनिर्भर रहन कृषिमा यान्त्रीकरणका सरकारको साथ र सहयोग सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले गाई, दाना, घाँस उत्पादनमा सहयोग रहने जानकारी गराउँदै कृषिलाई व्यावसायिक उद्योगमा लग्नुका साथै विषादीरहित कृषि उत्पादनमा गर्न कृषकलाई आग्रह गर्नुभयो । नेपाल डेरी एशोसिएशनका उपाध्यक्ष एवं शुभारम्भ डेरी उद्योग काभ्रेका सञ्चालक राजन दाहालले डेरी उद्योगको भविष्य उज्जवल रहेको दावी गर्दै दुग्ध उत्पादन र प्रशोधनमा अलगअलग अनुदानको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

अत्याधुनिक प्रविधियुक्त उद्योगले प्रतिघण्टा दुई हजार तथा दैनिक २० हजार लिटर दूध प्रशोधित गर्ने क्षमता रहेको छ । तीन जना सञ्चालक रहेको रु छ करोडको लागतमा दुई कट्ठा १० धुर जग्गामा स्थापित उद्योगले मोरङ र धनकुटाको ग्रामीण क्षेत्रमा दुग्ध सहकारीबाट दैनिक पाँच हजार दूध सङ्कलन गरी बजारमा दैनिक दही, घिउ, पनिर, बटर र प्रशोधित स्ट्याण्डर र होल दूध बजारमा बिक्री वितरण गर्ने गरेको छ ।