किशोरीलाई बन्धक बनाई बलात्कार गरेको अभियोगमा मन्त्रीका सल्लाहकार पक्राउ

काठमाडौँ : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका सल्लाहकार एक किशोरीलाई बन्धक बनाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन्। रामवीर मानन्धरका आर्थिक सल्लाहकार ५२ वर्षे अमृतकुमार घलेलाई फागुन १ गते महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको टोखाबाट पक्राउ गरेको हो।

चितवन स्थायी घर भएका उनी टोखामा फ्ल्याट लिएर बस्दै आएका थिए। उनले सिन्धुली घर भएकी किशोरीलाई गएको माघ २७, २८ र २९ गते फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको अभियोग छ।

किशोरीलाई फागुन १ गते उद्धार गरी सोही दिन घलेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।घलेविरुद्ध अपहरण तथा शरीर बन्धक एवम् जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएको उनले जानकारी दिए।