जंगीअड्डाभवनको भुक्तानी माग गर्दै मजदुरले गरे प्रदर्शन

जंगीअड्डाभवनको भुक्तानी माग गर्दै मजदुरले गरे प्रदर्शन

काठमाडौं : नेपाली सेनाको जंगीअड्डामा निर्माण गरिएको भवनको भुक्तानी माग गर्दै भद्रकाली अगाडि प्रदर्शन भएको छ ।

मुख्यालयका विभिन्न संरचना निर्माणमा संलग्न सहायक ठेकेदार, सप्लायर्स, मजदुरले लामो समयसम्म पनि भुक्तानी नपाएको भन्दै मंगलबार बिहान प्रदर्शन गरेका हुन् ।

मुख्यालय भवन निर्माण कार्य सकेको ९ महिना बितिसक्दा पनि भुक्तानी नपाएपछि बाध्य भएर आफूहरू धर्नामा बसेको सहायक ठेकेदार रमेश शिवकोटीले अनलाइनखबरलाई जानकारी दिए ।धर्नामा बसेका उनीहरूले ‘मजदुर मार्न पाइँदैन’, ‘भुक्तानीको ग्यारेन्टी गर’लगायतका प्लेकार्ड बोकेका छन् । बिहान १० बजेदेखि सुरु धर्ना १२ बजेसम्म जारी रहने सहायक ठेकेदार शिवाकोटीले जानकारी दिए ।

भवन निर्माणका लागि सेनालाई पुनर्निमाण प्राधिकरणमार्फत सरकारले तीन अर्ब ४४ करोड रुपैयाँ बिनियोजन गरेको थियो । भवनको १० वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

गोरखा भूकम्पपछि प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढंगबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना भएको सेनाको दाबी थियो ।२४ जेठ २०७३ बाट निर्माण सुरु भएको भवन दुई वर्ष १० महिनामा तयार भएको थियो ।

निर्माणका लागि दैनिक ४ सय जनशक्ति अहोरात्र खटिएका थिए ।नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय भवन निर्माणको जिम्मा सेनाले केसी कन्स्ट्रक्सनलाई दिएको थियो । तर कोसीले सव–कन्ट्याक्टर भित्राएर क्वेस्ट इन्फालाई जिम्मा लगाएको थियो । क्वेस्टमार्फत विभिन्न सहायक ठेकेदारहरूले भवन निर्माणका विभिन्न कामहरूको जिम्मा पाएका थिए । सहायक ठेकदारहरूले २ वर्ष नौ महिना लगाएर भवन हस्तान्तरण गरेका थिए ।

तर, भवन निर्माणमा संलग्न सहायक ठेकदार, सप्लायर्स र मजदुरले जिम्मेवारी पूरा गरेको ९ महिना बितिसक्दा पनि भुक्तानी पाएका छैनन् ।

सहायक ठेकदार शिवाकोटीका पटकपटक ताकेता गर्दा पनि क्वेस्टले भुक्तानी गर्न आनाकानी गरेको छ । उनका अनुसार, निर्माणमा जोडिएका सेनादेखि ठेकेदारसम्मले एकले अर्कोलाई देखाएर अल्झाउँदै आइरहेका छन् । सहायक ठेकदार, सप्लायर्स तथा मजदुरहरूले आफूहरूमाथि अन्याय भएको भन्दै सहयोगका लागि सबैलाई अपिल गरेका छन् ।