काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछि कांग्रेस र एमालेले संख्याको बलमा सरकार बनाएको आरोप लगाएका छन्।
शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले आफू नेतृत्वको तत्कालिन सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछि कांग्रेस र एमाले उनीहरुलाई बचाउने बाध्यतामा परेको दाबी गरेका हुन्।
प्रचण्डले भने- 'भ्रष्टाचारीहरुकै प्रतिनिधिको रुपमा अहिले कांग्रेस र एमाले सरकारमा छन्। उनीहरु सरकारमा छन् तर दिनदिनै जनताको नजरमा गिरिरहेका छन्। जहाँ जहाँ राम्रो काम भएको थियो, त्यो त्यो काम उल्टाउने कोशिस भैरहेको छ। मैले नै पहल गरेर लोडसेडिङमुक्त गरें। अहिलेको सरकारलाई यो लोडसेडिङमुक्त भएको विल्कुल मन परेको छैन। उनीहरु देशलाई फेरि अँध्यारो युगतर्फ लैजान चाहन्छन्।'
प्रचण्डले देशमा भूमाफियालाई आफूले कारबाही गरेको पनि स्मरण गराए। उनले सरकारी जग्गा जालझेल र षड्यन्त्र गरेर व्यक्तिको नाममा लैजाने षड्यन्त्रकारीलाई आफ्नो नेतृत्वको सरकारले कारबाही गरेको बताउदै अहिलेका प्रधानमन्त्रीले तिनैबाट दान लिएर भ्रष्टाचारीलाई संरक्षण गर्न खोजिरहेको आरोप लगाए।