काठमाडौं। नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपचनिर्वाचनका लागि केन्द्रीय संयोजन गठन गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा केन्द्रीय संयोजन समिति गठन गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उनका अनुसार समितिमा ४ जना सहमहामन्त्री र अरु केन्द्रीय सदस्यहरू रहेका छन् ।
कांग्रेसले बनाएको समितिमा सहमहामन्त्रीहरु भिष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार र महालक्ष्मी उपाध्याय डिना छन् भने केन्द्रीय सदस्यहरु प्रवक्ता डा। प्रकाशशरण महत, पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य छन् प्रकाश शर्मालाई सचिवको जिम्मेवारी दिईएको कांग्रेसले जनाएको छ ।
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ । २ मंसिरमा उम्मेदवारी दर्ता हुनेछ । अहिले स्थानीय तहका ३९ पद रिक्त छन् । जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३० वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।
उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् । माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको छ ।