काठमाडौं। सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) मा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको भूमिकालाई लिएर अन्य न्यायाधीशहरूले कडा आलोचना गरेका छन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे छलफल गर्न सोमबार दुई घण्टा बसेको बैठकमा अधिकांश न्यायाधीशहरूले शर्माले नेतृत्व सम्हालेपछि न्यायपालिकाको अवस्था बिग्रिँदै गएको टिप्पणी गरे।
पूर्वप्रधानन्यायाधीश राणाको पक्राउको विषयमा आधिकारिक धारणा तय गर्न बोलाइएको बैठकमा अघिल्ला प्रधानन्यायाधीशहरूको कार्यकालमा मौन रहेका राणा डा. शर्माको पालामा एकाएक सक्रिय हुनु संयोग मात्र नभएको न्यायाधीशहरूले बताए। यही समयमा राणाविरुद्धको रिट खारेज भई उहाँले पेन्सनपट्टा पाउने बाटो खुल्नुलाई समेत कतिपय न्यायाधीशले शंकास्पद रहेको औँल्याए।
१७ मध्ये १६ जना न्यायाधीश उपस्थित बैठकमा पूर्वप्रधानन्यायाधीश राणालाई बिनापुर्जी र बिनाकारण मध्यरातमा गरिएको गिरफ्तारी तथा न्याय सम्पादनमा बढ्दो ‘बाह्य हस्तक्षेप’लाई लिएर गम्भीर र चर्को छलफल भएको थियो। बिनाकारण र बिनापुर्जी यस्तो कदम चालिँदा यो अवस्था आउनुमा प्रधानन्यायाधीश शर्मा जिम्मेवार हुने कि नहुने भन्दै न्यायाधीशहरूले प्रश्न तेर्साएका हुन्।
सञ्चारमाध्यममा पूर्वप्रधानन्यायाधीश राणाले सर्वोच्चका फैसलाहरूमा प्रभाव पार्ने गरेको विषय बाहिर आएपछि सरकारले बलजफ्ती पक्राउ गरेको आरोप लागिरहँदा न्यायपालिकामा राणाको संलग्नतालाई लिएर प्रश्न उब्जिएका छन्। त्यसैगरी, भ्रष्टाचारका मुद्दा हेर्ने विशेष अदालतमा बाह्य हस्तक्षेप बढेको र संवैधानिक इजलास गठनमा तजबिजी गरिएको गुनासो पनि न्यायाधीशहरूले प्रधानन्यायाधीशसमक्ष राखेका छन्।
बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिमा न्याय सम्पादनका हरेक कामकारबाहीमा बाह्य वा आन्तरिक कुनै पनि प्रकारको प्रभावलाई किञ्चित स्थान नदिइने उल्लेख गरिएको छ। छलफलको अन्त्यमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले स्वतन्त्र न्यायपालिका जोगाउन कसैसँग सम्झौता नहुने प्रतिबद्धता जनाउँदै फुलकोर्टमा उठेका विषयलाई मनन गरेर सुधारको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे।
रहस्यमय बन्यो राणाको पक्राउ प्रकरण
नेपालको न्यायिक इतिहासमै पूर्वप्रधानन्यायाधीशलाई मध्यरातमा नियन्त्रणमा लिइएको घटनाले ठूलो हलचल मच्चाएको छ। राणालाई किन नियन्त्रणमा लिइयो र तत्काल त्यस्तो कदम चाल्नुपर्ने कानुनी आधार के थियो भन्नेबारे प्रहरीले हालसम्म कुनै आधिकारिक कारण सार्वजनिक गरेको छैन।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख एसएसपी सन्तोष खड्काले ‘सुरक्षा थ्रेट’का कारण राणालाई कार्यालयमा ल्याइएको दाबी गरे। तर, कानुनी जानकारहरूका अनुसार पूर्वप्रधानन्यायाधीश जस्तो उच्च संवैधानिक पदमा रहिसकेको व्यक्तिलाई सुरक्षा जोखिम भए घरमै थप सुरक्षा उपलब्ध गराउन सकिने विकल्प रहँदारहँदै मध्यरातमा प्रहरी कार्यालयमै ल्याइनु, घण्टौँ सोधपुछ गरिनु र घटनालाई सुरक्षा खतराको नाम दिएर पन्छिनुले घटनालाई झनै रहस्यमय बनाएको छ।
घटना विवरण अनुसार राणाको निवासमा करिब एक दर्जन सादा पोसाकका प्रहरी पुगेका थिए र उनलाई टेकु ल्याएर एसएसपी खड्काकै कार्यकक्षमा सोधपुछ गरिएको थियो। उद्देश्य केवल सुरक्षा दिनु मात्रै थियो भने सोधपुछ किन गरियो भन्ने प्रश्न गम्भीर रूपमा उब्जिएको छ।
पछिल्लो समय राणाको राजनीतिक गतिविधि, विभिन्न विवादित व्यक्तिसँगको सम्पर्क, सम्भावित अनुचित लेनदेन तथा न्यायिक विषयमा उनको सक्रियताबारे सुरक्षा निकायभित्र चासो बढेको कुरा सार्वजनिक भएका छन्। यद्यपि, प्रहरीले यी विषयमा कुनै औपचारिक अनुसन्धान निष्कर्ष वा पक्राउको कानुनी आधार सार्वजनिक गर्न सकेको छैन।
प्रहरी प्रशासनका बयानमा समेत एकरूपता देखिँदैन-कहिले ‘जेन-जीबाट खतरा’ त कहिले ‘भौतिक आक्रमण हुनसक्ने सूचना’का आधारमा सुरक्षित स्थानमा पुर्याइएको दाबी गरिएको छ। उहाँलाई राखिएको सो ‘सुरक्षित ठाउँ’ समेत गोप्य राखिएकाले घटना सामान्य सुरक्षा व्यवस्थापनभन्दा बाहिर रहेको स्पष्ट हुन्छ।