पुरानै तरिकाले वर्तमान चुनौतीको सामना गर्न सकिँदैन: प्रचण्ड

पुरानै तरिकाले वर्तमान चुनौतीको सामना गर्न सकिँदैन:  प्रचण्ड

काठमाडौं।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले बदलिएको परिस्थिति अनुसार पुरानै ढर्राबाट अघि बढेर मुलुकका वर्तमान चुनौतीहरूको सामना गर्न नसकिने बताएका छन्। शनिबार काभ्रे जिल्लाको एकता बैठकलाई सम्बोधन गर्दै उनले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकारको रक्षाका लागि सङ्घर्षलाई थप दृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

गत वर्ष भदौ २४ गतेको प्रतिगामी विध्वंसपछि देश सहज अवस्थामा नरहेको उल्लेख गर्दै उनले मुलुकलाई असाधारण सङ्कटतर्फ धकेल्ने दुस्प्रयासहरू भइरहेको दाबी गरे। यस्तो परिस्थितिमा सच्चा कम्युनिस्ट शक्तिहरूबीच एकता तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच सहकार्य अनिवार्य रहेको उनको भनाइ थियो।

गणतन्त्र आएपछि केही पनि भएन भन्ने भाष्य इतिहास र तथ्यसँग मेल नखाने स्पष्ट पार्दै उनले आफ्ना तीनवटा सरकारका कार्यकालमा भएका प्रमुख उपलब्धिहरूबारे चर्चा गरे। पहिलो कार्यकालमा शान्ति प्रक्रियालाई संस्थागत गर्ने, गणतन्त्र कार्यान्वयन गर्ने र संविधान निर्माणको आधार तयार पार्ने काम भएको उनले बताए। त्यस्तै दोस्रो कार्यकालमा संविधान कार्यान्वयनलाई गति दिने, दुई दशकपछि स्थानीय तहको निर्वाचन गराउने, सङ्घीयताको व्यावहारिक अभ्यास सुरु गर्ने, भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिने र लोडसेडिङ अन्त्य गरी विद्युत् निर्यातको स्थितिमा पुर्‍याउने निर्णायक काम भएको उल्लेख गरे। तेस्रो कार्यकालमा भने सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार, अर्थतन्त्र सुदृढीकरण र राष्ट्रिय हितका विषयलाई प्राथमिकता दिइएको उनले जानकारी दिए।

पार्टीभित्र पनि गम्भीर रूपान्तरण आवश्यक रहेको औँल्याउँदै प्रचण्डले केन्द्रीय समिति बैठकबाट नेतृत्वमा युवाको सहभागिता ५० प्रतिशतसम्म पुर्‍याउने र महाधिवेशनमार्फत वैचारिक बहस तथा पुनर्संरचना अघि बढाउने निर्णय भएको जानकारी दिए। आगामी दिनमा सदन र सडकका सङ्घर्षमा सहकार्य गर्दै आवश्यकता अनुसार निर्वाचनमा समेत कार्यगत एकताको आधार निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।

छुटाउनुभयो कि ?