नेपाली कांग्रेसको १५औँ महाधिवेशन: डा. सन्तोष उपाध्यायद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: डा. सन्तोष उपाध्यायद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

काठमाडौं।  नेपाली कांग्रेसका युवा नेता डा. सन्तोष उपाध्यायले पार्टीको आगामी १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीमा नयाँ पुस्ताको सहभागिता र नेतृत्वलाई सुदृढ बनाउने उद्देश्यका साथ उनले क्षमता, योगदान र जनसम्बन्धका आधारमा युवाहरूलाई अवसर दिनुपर्नेमा जोड दिएका हुन्।

धारणा सार्वजनिक गर्दै डा. उपाध्यायले नयाँ पुस्ताले केवल नेतृत्व पुस्तान्तरण मात्र नभई नयाँ सोच, कार्यशैली, जवाफदेहिता र समयअनुकूल निर्णय क्षमताको अपेक्षा गरेको बताए। बदलिँदो जनभावना र युवाको अपेक्षालाई आत्मसात् गर्दै पार्टीलाई थप गतिशील र जनमुखी बनाउनुपर्ने उनको भनाइ छ।

पार्टीभित्र क्षमता र अनुभव भएका थुप्रै युवा भए पनि उनीहरूले पर्याप्त अवसर नपाएको उल्लेख गर्दै उनले नेताको चाकडी वा व्यक्तिगत पहुँचका आधारमा नभई योग्यता र योगदानका आधारमा अवसर दिने राजनीतिक संस्कार बसाल्नुपर्नेमा जोड दिए। 'क्षमताको सम्मान, योगदानको मूल्याङ्कन र अवसरमा न्याय' आफ्नो मुख्य सङ्कल्प रहेको उनले स्पष्ट पारे।

करिब १७ वर्षदेखि नेपाली कांग्रेस र नेपाल विद्यार्थी सङ्घमा सक्रिय डा. उपाध्यायले अछामबाट सुरु भएको आफ्नो राजनीतिक तथा सामाजिक यात्रा प्रस्तुत गरेका छन्। नेविसङ्घ आईओएमको नेतृत्व, केन्द्रीय प्रचार-प्रसार समितिको संयोजन तथा महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिको रूपमा काम गरिसकेका उनले आफूसँग सङ्गठनभित्रको गहिरो अनुभव रहेको बताए। चिकित्सा क्षेत्र, सञ्चार, सामाजिक सेवा, खेलकुद व्यवस्थापन (नेपाल भलिबल लिगका कार्यकारी निर्देशक) र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका उनले यी सबै अनुभव र युवा ऊर्जालाई आफ्नो नेतृत्वको मुख्य आधार बनाएका छन्।

आगामी महाधिवेशनलाई नेतृत्व चयनका साथै पार्टीभित्र क्षमता र अवसरको मापदण्डबारे बहस गर्ने अवसरका रूपमा लिँदै उनले आगामी स्थानीय तहको निर्वाचनमा युवाहरूको उल्लेख्य सहभागिता सुनिश्चित गराउने प्रतिबद्धता व्यक्त गरे। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको सिर्जनशीलतालाई जोडेर अघि बढेमा मात्र कांग्रेस थप प्रभावकारी बन्ने बताउँदै उनले नयाँ पुस्ता अब पार्टीको भविष्य मात्र नभई वर्तमान नेतृत्वको महत्त्वपूर्ण शक्ति भइसकेको उल्लेख गरे।

छुटाउनुभयो कि ?