भानुभक्त मेमोरियल विद्यालयको अभिभावक दिवस सम्पन्न

भानुभक्त मेमोरियल विद्यालयको अभिभावक दिवस सम्पन्न

काठमाडौँ । आदिकवि भानुभक्तका नाममा स्थापित काठमाडौंको पानीपोखरी स्थित भानुभक्त मेमोरियल विद्यालयले एक कार्यक्रम गरी अभिभावक दिवस सम्पन्न गरेको छ ।

विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा विद्यार्थीद्वारा गीत, सङ्गीत, नृत्य, नाटक आदि प्रस्तुत गरिएको थियो । साथै कार्यक्रमा विभिन्न जातजातिका साँस्कृतिक भेषभूषा झल्कने पहिरन प्रदर्शन पनि गरिएको थियो । प्रमुख आकर्षकको रुपमा लाखे नृत्यले भने दर्शक दीर्घालाई आकर्षण गरेको थियो ।

उक्त कार्यक्रममा काठमाडौं विश्वविद्यालयका इन्जिनियरिङ संकायका डिन डा. मनिष पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने विशेष अतिथिका रुपमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक अश्वथामा भक्त खरेल रहेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय निरञ्जन पौडेल र माया महर्जनको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित व्यक्तित्वहरुलाई  इन्चार्ज हरिराम रानाले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए । उनले अभिभावकको समन्वयबाट नै विद्यार्थीहरुको सिप विकासमा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । प्रमुख अतिथिका रुपमा आफ्नो सारगर्भित मन्तव्यका क्रममा अभिभावक, विद्यार्थी र शिक्षकको त्रिकोणीय सम्बन्धले नै विद्यार्थीको समग्र विकास हुने आशय व्यक्त गरेका थिए । कार्यक्रम संचालन विद्यालयका शिक्षिकाद्वय वन्दना श्रेष्ठ र निर्मला सिग्देलबाट भएको थियो भने कार्यक्रमको सभापतित्व विद्यालयकी प्रधानाध्यापक ईश्वरी ढुङ्गानले गरेकी थिइन् ।