काठमाडौँ । सेयर बजारको निरन्तरको ओरालोपछि आज हरियाली छाएको छ । बिहीबार ७८ अंकले बढ्दै परिसूचक २६८८ बिन्दुमा उक्लिएको हो ।
यसअघि भदौ १८ गते नेप्से ६.९४ अंकले बढेको थियो । त्यसपछिका ७ कारोबार दिनपछि बिहीबार बजार उच्च अंकले उकालो लागेको हो । बिहीबार २२९ कम्पनीको सेयर मूल्य बढेको छ । १२ कम्पनीको मूल्य घट्दा ३ कम्पनीको मूल्य स्थिर रह्यो ।
बिहीबार कारोबार रकममा पनि केही सुधार देखिएको छ । कुल ३१८ कम्पनीको १ करोड ९४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब १६ करोड ९२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो ।