पेट्रोलियमको मूल्य नबढे दशैँमा भाडा बढ्दैन : सरोज सिटौला

पेट्रोलियमको मूल्य नबढे दशैँमा भाडा बढ्दैन : सरोज सिटौला

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नभए दशैँमा सार्वजनिक सवारीको भाडा नबढ्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले असोज २३ गतेदेखि दशैँका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला हुने जानकारी दिए । असोज २५ गतेसम्मको यात्राका लागि टिकटको कुनै समस्या नरहेको उनको भनाइ छ ।

‘घटस्थापनापछिको एक साता यातायातका साधनबाट आवतजावतमा विभिन्न समस्या र चुनौती थपिन सक्छन्,’ सिटौलाले भने, ‘तर, सरोकारवाला सबै निकाय मिलेर ती समस्याको समाधान गर्नुपर्छ ।’

दशैँको समयमा विशेषगरी दाङ, अर्घाखाँची, लुम्बिनी क्षेत्र तथा सुदूरपश्चिम जाने यात्रुको ठूलो चाप हुने उनले बताए । यस्तै ताप्लेजुङ, जुम्ला र कालिकोटजस्ता दुर्गम जिल्लाहरूमा भने आवश्यकताअनुसार थप गाडी पठाउन केही समस्या रहेको उनको भनाइ छ ।

विगतका वर्षहरूमा जस्तो दशैँमा घर जानका लागि टिकट पाउनै सकस हुने अवस्था अहिले नरहेको दाबी गर्दै उनले तोकिएभन्दा बढी भाडा नलिइने स्पष्ट पारे । पेट्रोलियम पदार्थको मूल्य बढेको खण्डमा बाहेक दशैँका नाममा अतिरिक्त भाडा नबढ्ने र तोकिएकै दरमा यात्रुलाई सेवा दिइने उनले बताए ।

छुटाउनुभयो कि ?