दसैँमा नयाँ नोट लिन बैंक धाउनुनपर्ने, एटीएमबाटै  नयाँ नोट  पाइने

दसैँमा नयाँ नोट लिन बैंक धाउनुनपर्ने, एटीएमबाटै  नयाँ नोट  पाइने

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएमबाट १०० रुपैयाँका नोट वितरण गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंक, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ । भोटेकोसी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थालाई ध्यानमा राख्दै नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगर्ने नीति लिइएको उनले बताए ।

पौडेलका अनुसार १ असोजदेखि राष्ट्र बैंकको थापाथली, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था भइरहेको छ । उनका अनुसार पछिल्ला चार–पाँच वर्षदेखि राष्ट्र बैंकले चाडपर्वका अवसरमा नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्दै आएको छ ।

‘एकातर्फ पैसा सटही गर्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो । यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन’, उनले भने । उनका अनुसार भदौ ३१ गतेसम्म मुलुकमा ७ खर्ब ९४ अर्ब रुपैयाँ करेन्सी इन सर्कुलेसन रहेको छ । दसैँका समयमा उक्त रकम करिब ८ देखि १० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको उनले बताए ।

छुटाउनुभयो कि ?