काठमाडौं। यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको समूह ‘सी’ को खेलमा क्रोएसियालाई २–१ गोलले हराउँदै स्पेन क्वाटरफाइनलमा पुगेको हो ।
स्पेनका मिकेल मेरिनोले दुई गोल गरे । क्रोएसियाका इभान पेरिसिचले एक गोल गरेका थिए ।
खेलमा सुरुवाती गोल क्रोएसियाले गरे पनि अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । क्रोएसियाका इभानले खेलको १७औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर ६१औँ र ८८औँ मिनेटमा मेरिनोले व्यक्तिगत दुई गोल गर्दै स्पेनलाई पुनरागमन जित दिलाए ।
यो जितसँगै चार खेलबाट स्पेन १२ अंकसहित समूह तालिकाको शीर्ष स्थानमा छ । पराजित भएको क्रोएसिया समान खेलबाट ३ अंकका साथ तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको इंग्ल्याण्डको ९ अंक छ ।