दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ९ अर्ब

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ९ अर्ब

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको  छ।

नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ बिन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.४८ प्रतिशतले घटेर ४८६.३६ बिन्दुमा अडिएको छ। नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा  घटेको छ।

यसदिन ३१६ स्क्रिप्सको २ करोड २ लाख ५३ करोड ९९३ कित्ता सेयर  ९ अर्ब ६५ करोड  १५ लाख १३  हजार २४६ रुपैयाँमा खरिदबिक्री भए। बुधबार १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो। बुधबार नेप्से परिसूचक ९०.७३ अंकले  घटेर २७३९.४६ विन्दुमा अडिएको थियो। 

यसदिन एउटा मात्रै‌ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर ९.१४ प्रतिशतले बढ्दा नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको ८.४३,अपर हेवाखोला हाइड्रोपावरको ७.९२ र गुडविल फाइनान्सको सेयर ७.८३ प्रतिशतले बढ्यो।

आज नेपाल फाइनान्सका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ८.९१ प्रतिशतले घट्यो। ४० करोड बढि मूल्यको सेयर कारोबार गरी नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। यसैगरी नेपाल फाइनान्सको ३४ करोड,गुडविल फाइनान्स र हिमालयन रिइन्स्योरेन्सको २९/२९ करोड र अपी पावर कम्पनीको २२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा  आएका स्टक्समध्ये १०१ वटाको मूल्य बढ्यो भने १३८ वटाको घट्यो। पाँच स्टक्सको मूल्य भने आज स्थिर रह्यो। दुई समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्।  माइक्रो फाइनान्सको १.६८ र ट्रेडिङ समूहको उपसूचक ०.१६ प्रतिशतले बढ्यो।