काभ्रेमा इँटा उद्योगका मजदूर मृत फेला

काभ्रे : काभ्रेको पाँचखाल नगरपालिका–८ खटार पाँडुलास्थित उपकार इँटा उद्योगका एक मजदूर आज बिहान मृत अवस्थामा फेला परेका छन् । भारतको दरभङ्गा निवासी ४८ वर्षीय भोली सदाय बिहान ८ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक गोविन्द अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार सदायलगायत उद्योगका चार जना मजदूरसँगै सुतेको र तीन जना बिहान सबेरै काममा निस्किएका थिए । बिहान ७ बजे काममा आउनुपर्ने सदाय काममा नआएपछि उनका साथी हेर्न जाँदा मृत अवस्थामा देखिएका थिए ।

सदायको सुतिरहेको अवस्थामा राति नै मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीले बताए । मृतक सदायको दरभङ्गामा रहेको परिवारलाई घटनाबारे जानकारी गराइएको छ । सदायले उक्त उद्योगमा मिस्त्रीको काम गर्दै आएका थिए ।