विप्लवको उपत्यका ब्युरो इञ्चार्ज लामासहित चार नेतालाई थुनामुक्त गर्न उच्च अदालत पाटनको आदेश

विप्लवको उपत्यका ब्युरो इञ्चार्ज लामासहित चार नेतालाई थुनामुक्त गर्न उच्च अदालत पाटनको आदेश

काठमाडौं : पाटन उच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा उपत्यकाका ब्युरो इञ्चार्ज माइला लामालगायत चार जनालाई थुनामुक्त गर्ने आदेश दिएको छ।

मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार लामासहित भृकुटी भन्ने धिरिन्द्रा कुमारी उपाध्याय, ईश्वर परियार, हितमान भन्ने नविन विश्वकर्मालाई थुनामुक्त गर्ने आदेश गरेको हो। उक्त इजलासले अर्का नेता हेमन्त प्रकाश ओलीसहित लोकेन्द्र कुमार खड्का, बुद्धबहादुर सिंताङ, शिव धिमाल, डिकेन्द्र राई, सूर्य भुजेल र दोर्ची शेर्पालाई भने थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न नै भनेको छ।

ओली सहितका नेतालाई एनसेलको केन्द्रीय कार्यालयमा वम विष्फोट गराइ एक जनाको हत्या गरेको आरोप लागेको छ। उनीहरूको साथबाट हातहतियार बरामद भएको, राई, भुजेल र शेर्पालाई एनसेलका बडिगार्डहरूले विष्फोट गराएको भन्दै सनाखत गरेको आधारमा थुनामै राख्ने आदेश गरेको हो।

उनीहरूमाथि काठमाडौं लगायतका विभिन्न ठाउँमा बम विष्फोट गराएको, ज्यानमार्ने कसूर गरेको र राज्य विरूद्धको अपराध गरेको भन्दै मुद्दा चलाइएको थियो। ललितपुर जिल्ला अदालतले सबैलाई विभिन्न समयमा थुनामा पठाउने आदेश गरेको हो। तीमध्ये लामासहित चार जनालाई थुनामा राख्न नपर्ने उच्च अदालतको आदेशमा उल्लेख छ।काठमाडौं सितापाइलाका लामा तत्कालीन माओवादी फुटेपछि वैद्य नेतृत्वको माओवादी हुँदै विप्लव पक्षमा लागेका थिए। उनी २०६४ को संविधानसभा चुनावमा काठमाडौंबाट उम्मेद्वार पनि भएका थिए।