प्रअदेखि पियनसम्म सबै महिला:मै हाे हेडसर भन्दा दङ्ग पर्छन्

प्रअदेखि पियनसम्म सबै महिला:मै हाे हेडसर भन्दा दङ्ग पर्छन्

दाङ : महिलाले मात्र विद्यालय सञ्चालन गर्दा समग्र शैक्षिक सुधार कति राम्रो हुँदो रहेछ भन्ने कुरा दाङमा रहेकाे एक विद्यालयले पुष्टि गरेको छ । 

घोराही उपमहानगरपालिका १० मा रहेकाे खैरा माध्यमिक विद्यालयमा बिहानको प्रार्थनाको लागि घण्टी बजाउने कार्यालय सहयोगीदेखि प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षिका र अन्य कर्मचारी महिला छन् ।  

श्यामा रावत विगत तीन वर्षदेखि विद्यालयमा प्रधानाध्यापकको  जिम्मेवारी सम्हालिरहनु भएको छ । विद्यालयको शैक्षिक वातावरण, सिकाइ उपलब्धि, व्यवस्थापन, छात्रछात्रा र अभिभावकसँगको घुलमिल सबैमा पछिल्लो समय विद्यालय नमुना बनेको छ ।

'शिक्षक मात्र हुँदा जिम्मेवारी धेरै नहुने कर्तव्य पूरा गरे पुग्थ्यो भने प्रधानाध्यापक भएपछि कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व धेरै हुँदोरहेछ', उहाँ भन्नुहुन्छ, 'विद्यालयमा महिला प्रधानाध्यापक छ भन्ने थाहा नपाएका मानिस विद्यालयमा आए भने 'हेडसर खै ?' बोलाइदिनुहोस् न भन्छन् । अनि मै हो 'हेडसर' भन्दा दङ्ग परेर हेर्ने गर्छन् ।' 

यस विद्यालयमा सबै कर्मचारी महिला आएपछि गएकाे वर्षदेखि ९ र १० कक्षाको पढाइ थप भएको छ । नयाँ भौतिक संरचना बन्ने क्रममा छन् । 'अहिले विद्यालयमा प्रअसहित १६ शिक्षिका, एक जना कर्मचारी, एक जना कार्यालय सहयोगी सबै महिला छौँ', उहाँले भन्नुभयो, 'विद्यार्थी धेरै अनुशासित छन् । एक पटक सिकायो भने ध्यान दिएर सुन्छन्, नबुझेको सोधीखोजी गर्छन् ।' 

महिला शिक्षिका र कर्मचारी आएपछि कक्षा कोठा सबै शैक्षिक सामग्रीले भरिएका छन्, बालबालिकाले स्वतन्त्ररुपमा अध्ययन गर्न पाएका छन् । कहिलेकाहीँ कारणवश विद्यालयमा शिक्षिक नआएर पनि कक्षा खाली हुन पाउँदैन । अर्को शिक्षिकाले कक्षा हेर्नुहुन्छ वा विद्यार्थी बाहिर चउरभरि छरिनुको सट्टा कक्षाकोठामा पुस्तक पढेर बस्ने गरेका छन् । विद्यालयमा खानेपानी, शौचालय, छात्रालाई सेनेटरी प्याड र त्यसलाई विसर्जन गर्ने सुविधा छ । 

सहायक प्रधानाध्यापक विमला अधिकारी प्रअदेखि कर्मचारी, शिक्षक, कार्यालय सहयोगी सबै महिला भएकाले पछिल्लो समय शैक्षिक गुणस्तरमा सुधार आएको दाबी गर्नुहुन्छ । 'सबै शिक्षिकलाई कामको जिम्मेवारी छ । प्रार्थना, अतिरिक्त क्रियाकलाप, साहित्यजस्ता विविध क्रियाकलापको जिम्मेवारीअनुसार सबै शिक्षिकले आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्छु', उहाँले भन्नुभयो ।   

'हामीले एक पटक जिम्मेवारी बाँडेपछि कसैलाई काम अह्राउनु पर्दैन', सहायक प्रअ अधिकारीले भन्नुभयो, 'एउटा खाका बनाएर अफिस कोठामा टाँस्छाैँ र त्यसैका आधारमा काम गर्छौं ।'  उहाँ अगाडि थप्नुहुन्छ, 'म गणित र विज्ञान विषयको शिक्षक हो, पहिले–पहिले त मान्छेहरु महिलाले मात्र कसरी र कस्तो विद्यालय चलाउलान् भनेर कुरा गर्थे, आजकाल हाम्रो काम देखेर प्रशंसा गर्छन्, खुशी लाग्छ ।' 

याे दाङकै नमुना विद्यालय हो । महिलाले नेतृत्व पाएमा गर्न सक्छन् भन्ने कुराको उदाहरण आफूहरु बनेको त्यहाँ कार्यरत महिला शिक्षिका बताउँछन् । याे विद्यालय अरु विद्यालयभन्दा कम नभएको दाबी गर्छन् उनीहरु । शिक्षा विकास तथा समन्वय एकाइ दाङले दिएको जानकारीअनुसार दाङका अन्य विद्यालयमा महिला प्रधानाध्यापक पनि छन् तर सबै महिलामात्रै भएको विद्यालय अरु छैन । 

अहिले दाङकाे मौरीघाट माविमा सीता रिजाल, सरस्वती मावि काठेकोलमा वसन्ता पौडेल, रक्षाचौर माविमा विष्णु केसीले महत्वपूर्ण जिम्मेवारी सम्हालेर काम गरिरहनु भएको छ ।

खैरा माविमा सबै महिला भएको कारणले विद्यालयको शैक्षिक र भौतिक गुणस्तरमा निकै राम्रो सुधार आएको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख नारायण गौतम बताउनु हुन्छ । उहाँले विद्यालयको आर्थिक पारदर्शिताका साथै सिकाइ क्रियाकलाप पनि नमुनायोग्य भएको जाकारी दिनुभयो । गएकाे वर्ष नै खैरा मावि बालमैत्री विद्यालयको रुपमा घोषणा भएको थियो ।