कोरोनाका कारण २सय१३ जनाकाे मृत्यु,विश्‍व स्वास्थ्य संगठनद्वारा संकटकाल घोषणा

कोरोनाका कारण २सय१३ जनाकाे मृत्यु,विश्‍व स्वास्थ्य संगठनद्वारा संकटकाल घोषणा

काठमाडौ : कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । बिहीबार जेनेभामा बसेको डब्ल्यूएचओको आपत्‌कालीन बैठकले प्राणघातक कोरोना भाइरसको प्रकोपलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ का रुपमा घोषणा गरेको हो ।

गत हप्ता डब्ल्यूएचओले चीनबाहिर फैलिएको संक्रमण तुलनात्मक रुपमा कम भए पनि कुनै बेला यसले भयावह रुप लिन सक्ने बताएको थियो। ‘स्वास्थ्य संकटकाल’ लाई डब्ल्यूएचओले ‘असाधारण घटना’ का रुपमा लिने गर्छ, जसमा अन्तर्राष्ट्रिय स्तरको समन्वयको खाँचो हुन्छ। यसअघि इबोला, जिका र एच १ एन १ भाइरस संक्रमणका बेला पनि डब्ल्यूएचओले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट २१३ जनाको मृत्यु भएको जनाएको छ। हुबेई प्रान्तका अधिकारीका अनुसार बिहीबार मात्रै थप ४२ जनाको मृत्यु भएको हो।

त्यस्तै झन्डै १० हजार व्यक्तिमा यसको संक्रमण देखिएको छ। शुक्रबार बिहानसम्म ९६९२ जनामा यसको संक्रमण भेटिएको चीनले जानकारी दिएको छ। बिहीबार मात्रै थप १९८२ जना संक्रमित भेटिएका हुन्। नोवल कोरोना भाइरसको संक्रमण चीनका सबै क्षेत्रमा फैलिएको छ । बिहीबार तिब्बतका एक व्यक्तिमा भाइरसको संक्रमण देखिएसँगै यो चीनका सबै क्षेत्रमा पुगेको हो ।

चिनियाँ सञ्चारमाध्यमका अुनसार वुहानबाट तिब्बत पुगेका ३४ वर्षीय एक पुरुषमा बिहीबार भाइरसको संक्रमण भेटिएको हो । जनवरी २५ मा रेलबाट त्यहाँ पुगेका उनलाई त्यसै दिन अस्पताल भर्ना गरिएको अधिकारीले बताएका छन् । संक्रमितको स्वास्थ्य स्थिर रहेको र सूक्ष्म निगरानीमा राखिएको राज्य सञ्चालित ‘चाइना डेली’ ले उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १५ देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का एक विज्ञले भाइरसको संक्रमण कम्तीमा अझै १० दिन फैलन सक्ने बताएका छन् । चिनियाँ स्वास्थ्य अधिकारीले सार्स र इन्फ्लुएन्जा भाइरसजस्तै कोरोना बढी उमेर समूह र पहिले नै श्वासप्रश्वाससम्बन्धी रोगको समस्या भएका मानिसका लागि निकै जोखिमयुक्त रहेको बताएका छन् । चीनबाहिर २० देशमा कोरोना भाइरसको संक्रमण फैलिए पनि अहिलेसम्म कसैको मृत्यु भएको छैन।