ललितपुरमा बाथरुममा नुहाउन पसेका एक दम्पतिको निसास्सिएर मृत्यु

ललितपुरमा बाथरुममा नुहाउन पसेका एक दम्पतिको  निसास्सिएर मृत्यु

काठमाडौँ : ललितपुरस्थित एक स्वास्थ्य क्लबको बाथरुममा नुहाउने क्रममा निसास्सिएर पति पत्नीकै मृत्यु भएको छ।तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक क्लबको साउनामा नुहाउने क्रममा ४२ वर्षीय हस्त गर्बुजामगर र उनकी श्रीमती ३९ वर्षीया नेत्रकुमारीको मृत्यु भएको हो।

हस्त गर्बुजामगर पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव (पीए) भएको बताइएको छ।उनीहरू बुधबार राति उक्त क्लबमा गएका थिए र राति क्लबको बाथरुमको साउना (तातो आउने विशेष व्यवस्था भएको) मा नुहाउन पसेका थिए।

धैरैबेर ननिस्केपछि बाथरुमको ढोका खोलेर हेर्दा उनीहरू बेहोस भेटिएका थिए।तत्काल उद्धार गरी पाटन अस्पताल पुर्‍याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको थियो। साउनामा नुहाउँदा निश्चित समयमा निस्किनुपर्ने हुन्छ।तर ती गर्बुजामगर दम्पति निश्चित समयमा ननिस्किएका कारण अक्सिजन नपुगेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।