चिकित्सक सङ्घको निर्वाचनमा काठमाडौँमा मतदान केन्द्र बढाउन माग

चिकित्सक सङ्घको निर्वाचनमा काठमाडौँमा मतदान केन्द्र बढाउन माग

काठमाडौँ : पेसागत समावेशी समूहले नेपाल चिकित्सक सङ्घको निर्वाचनमा काठमाडौँमा मतदान केन्द्र बढाउन माग गरेको छ । बुधवार पत्रकार सम्मेलन गरी सङ्घले बढी भन्दा बढी मतदाताको सहभागिता कालागि काठमाडौँमा मतदान स्थल बढाउन माग गरेको हो । समूहले मतदान गर्ने दिन भने घटाउन निर्वाचन समितिको ध्यानाकर्षण गराएको छ ।

पेसागत समावेशी समूहबाट अध्यक्षका प्रत्याशी डा पुष्पमणि खरालले केही शाखाहरूले मतदान केन्द्र बढाएको बताउँदै केन्द्रले पनि मतदान केन्द्र बढाउनुपर्ने धारणा राखे । अहिले नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यालयमा मात्रै भोटिङ हुने व्यवस्था गरिएको छ । मतदाता सङ्ख्या धेरै भएका अस्पतालहरूमा मतदान केन्द्र बनाउँदा धेरै मतदाताको सहभागिता हुने उनको भनाइ छ ।

साथै संसदीय चुनाव समेत १ दिनमा भएको अवस्थामा डाक्टरहरूको चुनाव ५ दिन हुनु लज्जास्पद भएको बताए । यस्तै सोही समूहबाट महासचिवका उम्मेदवार बनेका डा मधुर बस्नेतले मोफसलका केही शाखाहरूमा भएको निर्वाचनमा धादली भएको भन्दै निर्वाचन समितिको ध्यानाकर्षण गराए । लहान शाखामा उमेद्वारकै बुबा निर्वाचन अधिकृत बनाएको बताउँदै सामान्य निर्वाचन आचारसंहिता पनि पालना नगरिएको बताए । उनले निर्वाचनलाई मर्यादित नबनाए निर्वाचन नै अस्वीकार गर्ने चेतावनी दिए ।