धनुषामा मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा दुईको मृत्यु

धनुषा : पुर्वपश्चिम राजमार्ग अन्र्तगत धनुषामा सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४८ नंको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स१च १८५८ नंको बोलेरो बुधबार एकआपसमा ठोक्किदा घटनास्थलमा नै दुवैजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका—६ गोदार सडकखण्डमा भएको उक्त दुर्घटनामा सोही वडा बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी पत्नी ४० वर्षीया प्रमिला साहको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुर्घटनामा मोटरसाइकमा सवार साहका नौ वर्षीय छोरा जोन साह सामान्य घाइते भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए।

मृतक श्रीमान्–श्रीमती दुवैको शव जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिएका छन् ।