शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको स्मृति दिवस मनाइँदै

शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको स्मृति दिवस मनाइँदै

काठमाण्डौ : शहीद सप्ताहअन्तर्गत बुधबार शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको स्मृति दिवस मनाइँदै छ ।

शहीद श्रेष्ठ र चन्दलाई राणाशासकले विसं १९९७ साल माघ १५ गते काठमाण्डौको शोभा भगवतीमा मृत्युदण्ड दिएका थिए । उनीहरुमाथि राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवं शिक्षित गरेको आरोप लगाइएको थियो ।

विसं १९९७ सालमा राणाशासकले मृत्युदण्ड दिएका चार जना शहीदको सम्झनामा अहिले शहीद सप्ताह चलिरहेको छ । गएको १० गते शुक्रबारबाट सुरु भएको शहीद सप्ताह बिहीबारसम्म चल्ने छ । बिहीबार शहीद दिवस पनि हो ।

शहीद सप्ताहका अवसरमा शहीदद्वय गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण गरिएको छ । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गर्नुभएको हो । शालिक बनाउन काठमाण्डौ महानगरपालिका १५ को संयोजनमा महानगरले १६ लाख १० हजार रुपैयाँ सहयोग गरेको छ । शालिक निर्माणमा झण्डै १८ लाख रुपैयाँ खर्च भएको छ ।

शालिक महेश तुलाधरले निर्माण गरेका हुन् । शहीदहरुको शालिक अनावरण गर्दै मेयर शाक्यले उनीहरुले गरेको योगदान आगामी पुस्तासम्म जस्ताको त्यस्तै पुर्‍याउन शालिक निर्माण गरिएको बताएका छन्।