टी-२० विश्वकपमा भारत सेमिफाइनल खेल्दै नखेली सिधै फाइनल पुग्ने सम्भावना

टी-२० विश्वकपमा भारत सेमिफाइनल खेल्दै नखेली सिधै फाइनल पुग्ने सम्भावना

काठमाडौं । टी-२० विश्वकपमा आज दोस्रो सेमिफाइनलमा गुयानाको प्रोभिडेन्स स्टेडियममा भारतर इंग्ल्याण्ड खेल्ने कार्यक्रम छ । खेल नेपाली समयअनुसार साँझ सवा ८ बजे सुरु हुनेछ ।

तर युयानामा अहिले वर्षा भइरहेको छ । खेल हुने निर्धारित समयमा पनि गुयानामा वर्षाको सम्भावना ७५ प्रतिशत रहेको पूर्वानुमान । आइसीसीले सेमिफाइनलको लागि कुनै रिजर्भ डे राखेको छैन। यस्तो अवस्थामा आज खेल नभएमा अर्को दिन सेमिफाइनलको खेल हुने छैन ।

आज खेल हुन नसकेमा भारत सेमिफाइनल नखेली सिधै फाइनल जान सक्छ । भारतीय टोली सुपर–८ राउण्डमा समूहको शीर्ष स्थानमा रहेकाले खेल हुन नसके सिधै फाइनलमा पुग्ने छ । इङ्ल्यान्डको टोली आफ्नो समूहमा दोस्रो स्थानमा रहेकोले खेल नभएको अवस्थामा प्राविधिक रूपमा ‘पराजित’ ठहरिन सक्छ ।

सेमिफाइनलका लागि रिजर्भ डे नराखिएको भए पनि खेलका लागि २५० मिनेटको अतिरिक्त समय दिइएको छ । त्यसैले बेलाबेलामा वर्षा रोकिन थाल्यो भने खेल कुनै न कुनै रुपमा सञ्चालन हुन सक्छ र डीएलएस विधिबाट भए पनि हारजितको छिनोफानो हुन सक्छ ।

यदि आजको खेलमा पानी परेर अवरोध भयो भने डीएलएस विधि प्रयोग गरी नतिजा निकाल्न दुवै टिम कम्तिमा १०-१० ओभर खेल्न आवश्यक छ । अन्य टी-२० खेलमा कम्तीमा ५ ओभर खेल भएमा डीएलएस विधि प्रोग गर्न सकिने भए पनि आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलमा भने कम्तिमा १०–१० ओभरको खेल हुनुपर्ने हुन्छ ।

एक इनिङ्समा १० ओभर बलिङ गर्न ४५ देखि ५५ मिनेटको समय निर्धारित हुन्छ। १०–१० ओभरको खेल डेढ देखि दुई घण्टामा पूरा गर्न सकिन्छ अर्थात् गुयानामा २ घण्टाको खेल भए पनि सेमिफाइनल खेलमा नतिजामा पुग्न सकिन्छ ।

मौसम वेबसाइट एक्युवेदरका अनुसार गुयानामा आज दिनभर ७५ % सम्म वर्षा हुने सम्भावना छ। शहरमा बिहान ९ बजे ४० प्रतिशत, १० बजे ६६ प्रतिशत, ११ बजे ७५ प्रतिशत र दिउँसो १२ बजे ५० प्रतिशतसम्म वर्षाको सम्भावना रहेको छ । खेल बिहान १०:३० बजे सुरु हुने तालिका छ । पहिलो 3 घण्टामा ५०% भन्दा बढी वर्षाको सम्भावना छ। अर्थात् पूर्वानुमान अनुसार पानी परेमा खेल तोकिएकै समयमा सुरु हुने छैन ।

पूर्वानुमान अनुसार ५० प्रतिशतभन्दा बढी पानी पर्ने सम्भावना भए पानी पर्छ तर ५० प्रतिशतभन्दा कम पानी पर्ने सम्भावना भए रोकिन सक्छ । आज दिउँसो १ बजेअघि गुयानामा कम वर्षा हुने सम्भावना छ । शहरमा दिउँसो १ बजे ३४ प्रतिशत, २ बजे ३४ प्रतिशत र ३ बजे ४० प्रतिशत वर्षाको सम्भावना छ । त्यसपछि साँझ ४ बजे ५१% र साँझ ५ बजे ४७% वर्षाको सम्भावना छ ।

तर, दिउँसो केही ओभर खेल्ने हो भने साँझसम्म खेल सकिनेछ । किनभने गुयानामा साँझ ६ बजे ३६ प्रतिशत र साँझ ७ बजे २० प्रतिशत पानी पर्ने सम्भावना छ। वर्षाका कारण खेल राति ८ बजेसम्म ढिलो भए पनि राति ८ बजेसम्म २० प्रतिशत मात्रै वर्षाको सम्भावना रहेकाले खेल सम्पन्न हुन सक्छ । यसको मतलब अतिरिक्त समयको सही सदुपयोग भयो भने २०–२० ओभरको खेल पनि पूरा गर्न सकिन्छ ।

नेपाली समयअनुसार आज बिहान भएको दक्षिण अफ्रिका र अफगानिस्तानबीचको पहिलो सेमिफाइनलको लागि रिजर्भ डे थियो। तर, वर्षाले खेलमा कुनै बाधा नआएपछि खेल २ घण्टामै सकिएको थियो । अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको छ ।

भारत र इंग्ल्याण्डको सेमिफाइनलको लागि कुनै रिजर्भ डे छैन किनभने यो वेस्ट इन्डिजको समय अनुसार दिनको खेल हो। त्यसैले यो खेलका लागि अतिरिक्त समय राखिएको छ । खेल सकिनेबित्तिकै विजेता टोलीलाई चार्टर्ड विमानबाट बार्बाडोस लगिने कार्यक्रम छ जहाँ फाइनल हुनेछ ताकि उनीहरूले तयारीका लागि पर्याप्त समय पाउन सकून्। यो कारणले पनि रिजर्भ डे नराखिएको हो ।