गणतन्त्र दिवसमा भारतले दियो नेपाललाई ३० वटा एम्बुलेन्स

गणतन्त्र दिवसमा भारतले दियो नेपाललाई ३० वटा एम्बुलेन्स

काठमाडौं : भारतीय दूतावासले ७१ औं गणतन्त्र दिवसका अवशरमा नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग गरेको छ। नेपालस्थित भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवशरमा नेपालका विभिन्‍न अस्पताल तथा गैरनाफामुलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो। दुतावासले विभिन्‍न शैक्षिक संस्थाहरुलाई ६ वटा बस समेत सहयोग गरेको छ।

नेपालस्थित भारतीय दूतावसमा भएको एक कार्यक्रमबीच वीर नारी एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मान पनि गरेको छ। दूतावासका अनुसार १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरिएको हो ।

कार्यबाहक राजदूत डा.अजय कुमारले सात वटै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तकसमेत प्रदान गरे। कार्यबाहक राजदूत अजय कुमारले गणतन्त्र दिवसका अवशरमा भारतीय राष्ट्रपति दिएको शुभकामना सन्देश पढेर सुनाएका हुन्।

भारतले नेपालको आर्थिक विकासको यात्रामा हातेमालो गर्ने प्रतिवद्धता समेत गरेको छ। विभिन्‍न समय र सन्दर्भमा भारतले नेपालका ७७ जिल्लाका विभिन्‍न अस्पताल तथा गैर नाफा मुलक संस्थाहरलाई ७ सय ८२ एम्बुलेन्स र विभिन्न शैक्षिक संस्थाहरुलाई १ सय ५४ बस प्रदान गरेको छ। दिवसका अवसरमा इण्डिया हाउसमा भएको स्वागत समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागी भएका थिए।