चितवन। नारायणी नदीमा आएको भीषण बाढीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुजसिप’लाई तीनवटा शक्तिशाली क्रेनको सहायताले सफलतापूर्वक बाहिर निकालिएको छ।
आइतबार साँझ नदीमा बहाव उच्च हुँदा बगेर गएको उक्त क्रुजसिप नारायणी पुलको गैँडाकोटतर्फको पिलरमा ठोक्किएर अड्किएको थियो। बाढीको तीव्र बहावका बीच प्राविधिक टोली तथा उद्धारकर्ताहरूले भारी क्षमताका तीनवटा क्रेन परिचालन गरी जोखिमपूर्ण प्रयासपछि क्रुजसिपलाई पुलबाट अलग गराएका हुन्।
पुलको पिलरबाट छुट्याएर क्रुजसिपलाई गैँडाकोटतर्फको किनारमा तानेर सुरक्षित स्थानमा पुर्याइएको छ। क्रुजसिप सफलतापूर्वक निकालिएसँगै पुलमा पर्न सक्ने सम्भावित भौतिक क्षति र ठूलो जोखिम टरेको छ।