सरकारी एम्बुलेन्समा ३० किलो गाँजासहित तीन जना पक्राउ

सरकारी एम्बुलेन्समा ३० किलो गाँजासहित तीन जना पक्राउ

हेटौँडा : मकवानपुरबाट पछिल्लो समय भारततर्फ लागुऔषध निकासी हुने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा लैजाँदै गरेको एम्बुलेन्स नियन्त्रणमा लिएपछि यस्तो जानकारी बाहिर आएको हो । प्रहरीले एम्बुलेन्समा गाँजा लैजाँदै गरेका तीन जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डुमरिया नगरपालिका ९ का ३९ वर्षीय महमद खलिद, डुमरिया ४ का १९ वर्षीय अशोक कुमार र भारत बिहार मोतिहारी वसन्तपुरका २२ वर्षीय विनोद सहनी रहेका छन् ।

सूचनाको आधारमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्स नेवारपानीमा जाँच गर्दा तीन वटा झोलामा ६ वटा पोका बनाएर लुकाइ राखेको ३० किलो ६ सय ग्राम गाँजा बरामद भएको हो ।

उनीहरुको साथबाट ९१ हजार नेपाली रुपैयाँ र दुई हजार दुई सय भारतीय रुपैयाँ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिएका छन् ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ऐनअन्तर्गत कारबाही अघि बढाइने भएको छ । ऐनअनुसार दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँ जरिबाना तथा सवारीसाधन जफत हुने कानुनी प्रावधान रहेको छ ।