नेपाल वाटर इनर्जी डेभलपमेन्ट कम्पनीका कर्मचारी हटाउन माथिल्लो त्रिशुली प्रभावितको माग

नेपाल वाटर इनर्जी डेभलपमेन्ट कम्पनीका कर्मचारी हटाउन माथिल्लो त्रिशुली प्रभावितको माग

काठमाडौं १२ माघ : माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना प्रभावितहरुले नेपाल वाटर इनर्जी डेभलपमेन्ट कम्पनीका दुई जना कर्मचारीलाई ७ दिनभित्र हटाउन चेतावनी दिएका छन् ।

आयोजना अति प्रभावित रसुवाको काक्सिङ बस्तीका बासिन्दालाई उचित मुआब्जा नदिई मनोमानी ढंगले ठेक्कापट्टा र कर्मचारी भर्ना गरेको भन्दै स्थानियले कम्पनीका कर्मचारी मधु खनियाँ र गिरिराज अधिकारीलाई तत्काल हटाउन माग गरेका हुन् । “कर्मचारी मधु खनिया र गिरिराज अधिकारीले स्थानीय अति प्रभावित जनताको जायज मागहरुलाई कुन्ठित गरि ठेक्कापट्टादेखि रोजगारी र हरेक कामहरू स्थानीयलाई भन्दा बाहिरका र उनिहरुका आफन्तलाई दिएको हुँदा ती कर्मचारीहरु नहटाएसम्म प्रभावित जनता र आयोजना कम्पनीबीच सुमधुर सम्बन्ध नहुने ठहर गर्दै ७ दिन भित्र हटाउन पहल गरिदिन आदिवासी विकास बोर्डलाई अनुरोध गर्दछौं ।” निर्णयमा भनिएको छ ।

आयोजना प्रभावित काक्सिङ बस्तीको आदिवासी सल्लाहकार परिषद्को केहि दिन अघि बसेको बैठकले काक्सिङ बस्तीका बासिन्दालाई आयोजनाले सुकुम्वासी बनाएको भन्दै उचित मुआब्जा दिन र जग्गासम्बन्धी सरकार, आयोजना प्रभावित र आयोजनाबिच भएको पूर्वसहमती कार्यान्वयन गर्न माग गरेको छ । सल्लाहकार परिषदले जग्गाको उचित मुआब्जा दिनुपर्ने र जग्गा सम्बन्धी आदिवासी सल्लाहकार परिषदसङ्ग भएको सम्झौता अक्षरस पालन गर्न माथिल्लो त्रिशुली १ आयोजना सम्बद्ध आदिवासी विकास बोर्डलाई अनुरोध गरेको छ ।

आयोजना कम्पनीले विभिन्न रिक्त पदका लागि स्थानीयको माग विपरित विज्ञापन गरेको भन्दै परिषदले कर्मचारीको पदपुर्तिका लागि गरेको विज्ञापन बदर गर्न माग गरेको छ । परिषदले रोजगारीका सन्दर्भमा अति प्रभावित, कम प्रभावित र जिल्लाबासीलाई प्राथमिकता नदिए आयोजनाको काम नगर्न अनुरोध गर्ने जनाएको छ । आयोजनाको जिम्मा आएको कम्पनी डेलिमले बीचमै काम छोडेर गएको र त्यसका कर्मचारी नेपाल वाटर इनर्जी डेभलपमेन्ट कम्पनीले स्विकारेकोमा परिषदले विरोध जनाएको छ ।