काठमाडौं। आइसिसी विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी को आफ्नो अन्तिम खेलमा नेपालले भोलि बंगलादेशको सामना गर्दैछ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ।
अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। तर बंगलादेशका लागि भने निकै महत्वपूर्ण मानिएको छ।
नेपालले भोलि बंगलादेशलाई हराएर प्रतिष्ठा बढाउने लक्ष्यका साथ खेल्दैछ।
समूह डि बाट दक्षिण अफ्रिका आठ अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरिसकेको छ। अब समूह डि बाट सुपर आठमा पुग्ने दोस्रो टोलीको टुंगाे लाग्न बाँकी छ। नेपाललाई पराजित गरेमा बङ्गलादेश समूहको दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्नेछ। अंक तालिकामा बंगलादेशको चार अंक छ।
विश्वकपमा एक अंक बटुलेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिसकेको छ। नेदरल्यान्ड्सको सम्भावना भने कायमै छ। नेदरल्यान्ड्स दुई अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ। नेदरल्यान्ड्स र श्रीलंकाबीचको खेल पनि भोलि नै हुनेछ।
भोलिको खेलमा नेपाललाई बंगलादेशविरुद्ध दश वर्षअघि भोगेको हारको बदला लिने सुनौलो अवसर छ। नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
विश्वकपमा नेपालले यसअघि खेलेको तीन खेलमा दुई खेलमा हार तथा एक खेल बराबरी खेलेको थियो। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग पराजित भएको थियो। श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले समान एक एक अंक बाँडेका थिए। त्यस्तै दक्षिण अफ्रिकाविरुद्धको तेस्रो खेलमा नेपाल एक रनले पराजित भएको थिथो।