नेपालले गुमायो ऐतिहासिक अवसर, दक्षिण अफ्रिकासँग एक रनले पराजित

नेपालले गुमायो ऐतिहासिक अवसर, दक्षिण अफ्रिकासँग एक रनले पराजित

काठमाडौं। टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै इतिहास रच्नबाट चुकेको छ। जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए। उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अनिल साहले २४ बलमा २७ रनको योगदान दिए। उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे। नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो। टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए। उनले ५ चौका र १ छक्का प्रहार गरे। ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए। उनले २ चौका र १ छक्का प्रहार गरे।

कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे। उनले एक चौका हिर्काए।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । ४ ओभर बलिङ गर्दै उनले १९ रनमात्र दिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए।

यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन्।