टी-२० विश्वकपमा आज दुई खेल हुँदै

टी-२० विश्वकपमा आज दुई खेल हुँदै

काठमाडौं। जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदै छन्।

आज समूह सी अन्तर्गत वेस्ट इन्डिज र न्यूजिल्याण्ड खेल्दै छन्। ट्रीनीडाडको ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार विहान ६; १५ बजेदेखि शरू हुने छ।

वेस्ट इन्डिजले जारी विश्वकपका आफ्ना शुरुका दुवै खेलमा जित हासिल गरेर ४ अंक बटुलेको छ। वेस्ट इन्डिजले युगाण्डा र पिएनजीलाई पराजित गरेको थियो। त्यस्तै न्यूजील्याण्डले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग हार बेहोरेर खराब शुरुवात गरेको छ।

वेस्ट इन्डिज र न्यूजील्याण्डबीच अहिलेसम्म कुल १९ टी-२० खेल भएका छन्, जसमा न्यूजील्याण्डले ११ खेल जितेको छ भने वेस्ट इन्डिजले ६ खेल जितेको छ। त्यस्तै २ खेल बिना नतिजा सकिएका छन्।

त्यस्तै आज अर्को खेल समूह डी अन्तर्गत बंगलादेश र नेदरल्याण्डसबीच हुँदै छ। सेन्ट भिसेन्टस्थित अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ।

दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ। यस अघि दुवैले खेलेका २-२ खेलमा एक जित र एक हार बेहोरेका छन्। बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो।

यस समुहबाट दक्षिण अफ्रिकाले ३ खेलमा तिनै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलंकाले ३ खेलमा २ हार र एक नेपालसँगको खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको छ । श्रीलंकाको यस विश्वकपमा सुपर ८ को सम्भावना लगभग सकिएको छ।