काठमाडौँ :काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ । एक सातादेखि दिनहँुजसो घाम लागे पनि खासगरी बिहान बेलुका बढी चिसो महसुस गरिएको छ ।
अहिले किन चिसो बढेको भनी राखिएको जिज्ञासामा मौसमविद् शान्ति कँडेलले कुनै पनि किसिमको मौसमी प्रणाली विकास नभए पनि यस्तो अवस्था अझै केही दिन जारी रहने बताउनुभयो ।
उहाँले चिसो बढे पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा नझर्ने र विस्तारै तापक्रम बढ्दै जाने बताउनुभयो । राजधानीसहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा चिसो महसुस गरिएको छ ।
तराईमा हुस्सु र कुहिरोले बिहान र साँझपख बढी चिसो हुने गरेको छ । अहिले तराई क्षेत्रमा कुहिरो लागेको छ, भने देशका पूर्व र मध्यका केही स्थानमा आंशिक बदली रहेको मौसमविद् कँडेलको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव आठ र अधिकतम तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
महाशाखाले तराईको हुस्सु/शीतलहरसम्बन्धी आज बुलेटिन निकालेर सुदूरपश्चिम प्रदेशको तराई भूभागबाहेक बाँकी तराईका भूभागमा हुस्सु र कुहिरो लागेको जनाएको छ । अपराह्नपछि विस्तारै कुहिरो हटेर जानेछ । अबको केही दिन सामान्यतया मौसम सफा रहने जनाइएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १० गते (शुक्रबार)
दिउँसो : देशको पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशको पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
माघ ११ गते (शनिबार)
दिउँसो : देशका अधिकांस स्थानमा आंशिक बदली रहनेछ ।
राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि स्थानमा सामान्यतया सफा रहनेछ।
माघ १२ गते (आइतबार)
दिउँसो : देशको मध्य र पुर्वि भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बादली रहनेछ।
राती : देशको मध्य र पुर्वि भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बादली रहनेछ।
तराईका अधिकांश भू-भागमा हुस्सुरकुहिरो रहने र ती स्थानहरुमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।