तीन गाउँपालिकामा १सय ८ छाउगोठ भत्काइयो

तीन गाउँपालिकामा १सय ८ छाउगोठ भत्काइयो

डोटी : प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो । सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपिनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँमा ९१, जोरायल गाउँपालिका–५ धुपारी गाउँमा ३ तथा पूर्वीचौकी गाउँपालिका–५ को काडामाडौँमा १४ गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो ।

नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा गोठ भत्काउने क्रम जारी रहेको छ । प्रहरीले गोठ भए नभएको अवस्थाका बारेमा समेत अनुगमनसमेत गरिरहेको छ । अनुगमनका क्रममा ती तीन गाउँपालिकामा मात्रै ११३ वटा छाउपडी गोठ रहेको जनाइएको छ । उहाँले भन्नुभयो, “तीन गाउँपालिकामा छाउगोठ भेटिएका छन्, छाउगोठ भत्काउने अभियान जारी छ ।” गोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन गरिएको छ ।

अभियनामा यहाँका स्थानीय, जनप्रतिनिधि तथा विभिन्न सङ्घ संस्थाको सहभागिता रहँदै आएको छ । जिल्लालाई आगामी फागुन महिनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी छाउपडी गोठ भत्काउने अभियानलाई तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।