दामनको रिसोर्टमा अचेत अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको मृत्यु

दामनको रिसोर्टमा अचेत अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको मृत्यु

काठमाडौं : मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृत्यु भएको छ । मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा  मंगलबार बिहान अचेत अवस्थामा फेला परेका ४ पुरुष र ४ जना महिला भारतीय पर्यटकको उपचारका क्रममा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको हो ।

मंगलबार बिहान अचेत अवस्थामा फेला परेपछि ८ जनालाई नै उपचारका लागि ह्याम्स अस्पताल पुर्‍याइएको थियो । ५ र ३ जना गरी दुई पटकमा गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका उनीहरुको ह्याम्स अस्पतालको आकस्मिक कक्षमा उपचार शुरु गरिएको थियो । उनीहरुको उपचारकै क्रममा मृत्यु भएको सूचना प्राप्त भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ प्रहरीको भनाइ छ ।
मृतकहरुको पहिचान भने खुल्न सकेको छैन ।