पहाडमा पानि र हिमाली भेगमा हिउँ पर्ने सम्भावना

काठमाडौं : साेमबार देशको मध्य र पश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आजदेखि फेरि पश्चिमी वायुको प्रभाव पर्ने भएकाले देशभरकै आकाशमा बादल लागेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ र पानी पर्ने सम्भावना देखिएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।   

त्यस्तै तराईका भूभागमा बिहानैदेखि लागेको कुहिरो पनि साेमबार दिनभर हट्ने सम्भावना छैन । काठमाण्डाैसहित मध्य र पूर्वका केही ठाउँमा भने अहिले बिहान घाम लाग्ने तर दिउँसो १२ बजेपछि बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनु भयो ।

अबको एक–दुई दिन देशका केही ठाउँमा सामान्य पानी र हिउँ पर्ने सम्भावना रहेको छ भने अरु ठाउँको मौसम पनि पूर्णरुपमा खुल्ने सम्भावना छैन ।

आगामी तीन दिनको मौसम
माघ ६ गते (सोमबार)
दिउँसो :
 पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति : देशका पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । पूर्व र मध्यका तराई भूभागमा मौसम सामान्यतया सफा रहनेछ । मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ ।

माघ ७ गते (मंगलबार)
दिउँसो :
 देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी र मध्य भेगका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ ।

रातिः देशको पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ ।

माघ ८ गते (बुधबार)
दिउँसो :
 पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका भूभागमा हुस्सु र कुहिरो रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : पूर्वी नेपालमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी भेगका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।