अस्पतालकाे शेयर दिलाइदिने भन्दै ५० लाख ठग्ने भारतीय नागरिक पक्राउ

अस्पतालकाे शेयर दिलाइदिने भन्दै ५० लाख ठग्ने भारतीय नागरिक पक्राउ

काठमाडौ । कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सेयर दिलाइदिने भन्दै ठगी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत तमिलनाडु घर भई काठमाडौं बस्दै आएका ४४ वर्षीय शिवम विरुमुथु चेटियार रहेका छन् । उनलाई महानगरी अपराध महाशाखाको टोलीले बालुवाटारबाट पक्राउ गरेको हो । विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा चोटियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

आफू मेडिकल व्यवसायमा आबद्ध रहेको, मणिपाल शिक्षण अस्पताल खरिद गर्ने भारतीय सेयर होल्डरहरुसँग कुराकानी भइरहेको भन्दै उक्त शेयर दिलाईदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनले शेयर दिलाईदिने प्रलोभन देखाएर नेपाली नागरिकबाट पैसा संकलन, जग्गाको लालपुर्जा लिएको तथा नेपालीको नागरिकता प्रमाणपत्र लिएर त्यसकै आधारमा बैंक खाता खोल्ने र जम्मा भएको रकम हिनामिना गर्नेलगायतको काम गरेको महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । 

अनुसन्धानका क्रममा उनले विभिन्न मानिसबाट ५० लाख रुपैयाँ ठगी गरेको खुलेको छ । मंगलबार पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

आरोपित चेटियार यसअघि वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरेको अभियोगमा दुई वर्ष जेल जीवन विताएर डिल्लीबजार कारागारबाट निस्किएका थिए ।  तीन लाख ५० हजार धरौटीमा जेलबाट निस्किएपछि पनि उनले ठगी धन्दालाई निरन्तरता दिएको अनुसन्धानबाट खुलेको छ ।