आज महाअष्टमी : विभिन्न शक्तिपीठमा बलीसहित विशेष पूजा गरिँदै

आज महाअष्टमी : विभिन्न शक्तिपीठमा बलीसहित विशेष पूजा गरिँदै

काठमाडौं ।  बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ। आजको दिन शास्त्रसम्मतरूपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ।

आज नवदुर्गा भगवतीहरू शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि पार्वतीका विभिन्न स्वरूपका देवीहरूको पूजाआराधना गरिन्छ। साथै देवीहरुलाई बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बली पनि दिइन्छ। विशेषगरी आज बोका, रागा, परेवा, हाँस र भेंडाको बली अर्थात् पञ्चबलि दिने प्रचलन छ। पशुबली नदिनेहरुले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्छन्।

दशैंघर तथा जमरा राखिएको कोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गरिन्छ। साथै, फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गर्ने प्रचलन छ।

आजको दिन दसैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तसती पाठ गर्ने परम्परा छ।हनुमानढोकाको दसैं घरमा आज मध्यरातमा शक्ति रुपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ रांगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ ।

आजका दिन उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लाग्ने गर्छ।