काठमाडौं। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज शनिबार पुनः घटेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनमा उपत्यकाको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस रेकर्ड गरिएको छ।
यो प्रारम्भिक मापन मात्र भएकाले बिहान ८:४५ बजे सार्वजनिक हुने आधिकारिक तथा अन्तिम मापनसम्म तापक्रम अझै थोरै घट्न सक्ने महाशाखाले जनाएको छ। यद्यपि, कहिलेकाहीँ सुरुवाती मापनकै हाराहारीमा तापक्रम स्थिर रहने सम्भावना पनि रहन्छ।
यसअघि हिजो शुक्रबार बिहान ५:४५ बजेको सुरुवाती मापनमा ८.७ डिग्री सेल्सियस देखिएको उपत्यकाको न्यूनतम तापक्रम ८:४५ बजेको अन्तिम मापनमा झरेर ८.५ डिग्री सेल्सियसमा कायम भएको थियो।
मंसिर महिनाको सुरुवातसँगै उपत्यकाको तापक्रममा उतारचढाव देखिएको छ। मंसिर २ गतेदेखि निरन्तर घट्दो क्रममा रहेको न्यूनतम तापक्रम मंसिर ९ गते ७ डिग्री सेल्सियससम्म झरेको थियो। त्यसपछि मंसिर १० र ११ गते लगातार दुई दिन तापक्रम केही बढेको भए पनि आज शनिबार पुनः ओरालो लागेको हो।
मौसमविद्हरूका अनुसार राति आकाश बादलले ढाकेमा बिहानको न्यूनतम तापक्रम केही बढ्ने गर्छ भने रातभर आकाश सफा र खुला रहँदा पृथ्वीको सतह छिटो सेलाउने भएकाले बिहान तापक्रम घट्ने गर्दछ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले राति आकाश खुल्दा बिहानपख चिसो बढेको हो।
महाशाखाले हरेक दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्टेसनहरूबाट बिहान ८:४५ बजे न्यूनतम र साँझ ५:४५ बजे अधिकतम तापक्रम मापन गर्दै आएको छ। न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको चिसोको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको गर्मी वा न्यानोपनको मापन गर्दछ।
मंसिरको मध्यतिर आइपुग्दा देशभर नै दिनप्रतिदिन तापक्रम घट्दो र चिसो बढ्दो क्रममा छ। विशेषगरी बिहान र बेलुकाको समयमा चिसो सिरेटो चल्ने तथा तराईका कतिपय भू–भागमा हुस्सु र कुहिरो लाग्ने क्रम सुरु भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।