एटीएम फुटाएर पैसा चोरी गर्ने दुई जना पक्राउ

एटीएम फुटाएर पैसा चोरी गर्ने दुई जना पक्राउ

काठमाडौँ : राजधानीको चन्द्रागिरी नगरपालिका–७ स्थित थानकोट चेकपोस्ट नजिकै रहेको सिटिजन्स बैंकको एटीएम मेसिनबाट पैसा चोर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगुको सोरु गाउँपालिका वडा–६ घर चन्द्रागिरी ५ स्थित दाउराडिपो बस्ने २४ वर्षीय चित्र बहादुर शाही २० वर्षीय नन्दराज धराल रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले एटीएम मेसिन राखेको सटरको ताल्चा तोडी मेसिन समेत फुटाइसकेको अवस्थामा प्रहरीले फेला पारेको थियो । एटीएमको मेसिन भित्र राखेको नगद चोरी गर्ने उद्देश्यले उनीहरुले एटीएम फुटाउदै गर्दा महानगरीय प्रहरी बृत्त थानकोटको टोली सयममै पुग्दा रकम चोरिनबाट जोगिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुले एटीएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलामको रेन्च, काठको बिड भएको धारिलो हतियार चक्कु समेत बरामद गरेको छ । शनिबार राति पक्राउ गरेर आइतबार सार्वजनिक गरिएका उनीहरुमाथि थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।